आदिम प्रकृतिको मूलबाटो
अस्तित्वका निर्मल पदचापहरू
चुपचाप समयको किनारैकिनार
पछ्याउँदै पछ्याउँदै आएको
सबैको कानले सुन्दै आएको
सबैको जिब्रोले भन्दै आएको
सबैको आँखाले देख्दै आएको
अविरल आफ्नै लयमा
अमृतजल बहँदै बहँदै आएको
म सुनकोशी हुँ ।
सुनकोशी मेरो पहिचान
सुनकोशी मेरो विज्ञान
सुनकोशी मेरो ब्रह्माण्ड
कसैको नजरमा म सुन जस्तै हुँला
कसैको नजरमा सुन जस्तो देखिने
कमसल पित्तल पनि छुइनँ हुँला
तर स्विकार्नुस् महोदय
म हावाले स्विकारेको
शीतल जलको नीलो नदी हुँ
म शालीन आगोले अग्लाएको
हिमचुलीबाट उत्पत्ति भएको नदी हुँ
म चिन्तनले चुलिएको
चैतन्यको चुलीथुम्कोको
परावर्तित प्रतिविम्ब हुँ
म त सिर्फ सभ्यताको सुनकोशी हुँ ।
म अनन्त बगिरहन्छु
बग्नुमा छ मेरो जीवन
बगिरहनुमा छ मेरो जवानी
खोँचहरूमा खोच्याउँदै सुसेल्दै
समथरहरूमा सलल तैरिँदै
बालुवासँग झोक्किँदै गीत गाउँदै
ढुङ्गाहरूसँग ठोक्किँदै मित लाउँदै
वनस्पतिलाई हरियो र
धर्तीलाई हराभरा बनाउँदै
महर्षि र प्यासीको प्यास मेटाउँदै
निरन्तर नियतिको बगरैबगर
सुन्दर सुस्केरा सुसेलिरहने
म आपैmँमा स्वर्णिम सुनकोशी हुँ ।
म अनवरत आफ्नै चालमा
चुपचाप वाचाल भई बगिरहन्छु
कसैले फोहोरका डङ्गुर फ्याँक्छन्
र सुकिलो बन्छन् आफूहरू
कसैले सतबिज छर्छन् अनि
एकादशीमा फूलमाला तार्छन्
र पुर्खाहरूलाई तारिरहन्छन्
नचाउँदै निश्चल नयनहरू
छालहरू छचल्काइरहने
म सुनकोशी हुँ ।