• ५ वैशाख २०८३, शनिबार

प्रेमसँगै विद्रोह

blog

नेपाली साहित्यका लागि वर्तमान समय निकै ऊर्जावान् बनेको देखिन्छ । लेखन तथा गतिविधि उल्लेख्य मात्रामा भइरहेका छन् । पुस्तक प्रकाशनका शृङ्खला बाक्लै देखिन्छ । राम्रा गुणस्तरका पुस्तक तथा सिर्जना पढ्ने पाठकको सङ्ख्या पनि ठुलै छ । गुणस्तरीय पुस्तकहरू प्रकाशन पनि भइरहेका छन् । नेपाली कविताको पछिल्लो पुस्तक ‘बगावतनामा’ भित्रका कविताले पनि पाठकको मन जितेको छ । 

रिमा केसीको नवीनतम कवितासङ्ग्रह हो– ‘बगावतनामा’ । यसअघि उहाँको ‘यात्रामा अक्षर’ कवितासङ्ग्रह (२०७५) तथा चर्चित भारतीय कवि ‘अमृता प्रीतमका छानिएका कविता’ अनुवादसङ्ग्रह (२०७९) प्रकाशित भएको छ । कवि रिमा केसीको पुस्तकका रूपमा कवितासङ्ग्रह प्रकाशन भए पनि साहित्यका अन्य विधामा पनि उहाँको कलम चलेको पाइन्छ । कवि रिमा टेलिभिजनमा कार्यक्रम निर्माता र प्रस्तोताको भूमिकामा पनि हुनुहुन्छ । 

रिमा केसीका कविता एउटा फरक पहिचान बनाउन सफल रहेको देखिन्छ । समकालीन कविहरूको भिडमा टड्कारै चिन्न सकिने पहिचान बनाउनुभएको छ रिमा केसीले ‘बगावतनामा’ सङ्ग्रहमार्फत । उहाँ मान्छेका कविता लेख्नुहुन्छ र मान्छेलाई नै सुम्पिनुहुन्छ । अन्यायका विरुद्ध शब्दका गोली चलाउनुहुन्छ र समाजलाई केही सोच्न बाध्य पार्नुहुन्छ । यही भूगोलमा धेरैले भोगेका आमभोगाइ छन्, ती भोगाइभन्दा पर हुनुहुन्न उहाँ तर उहाँको दृष्टिकोण चाहिँ फरक छ । त्यही फरक दृष्टिकोणले उहाँलाई त्यो भिडमाझमा पनि टड्कारै चिन्न सक्ने बनाएको छ । 

मुना कविता, दृश्य परिदृश्य, प्रेमाङ्कुरण र विद्रोहको रङ गरी चार खण्डमा विभाजित ४० कविता ‘बगावतनामा’ मा पढ्न सकिन्छ । कवितामार्फत वर्तमानका आवाज पढ्न तथा समयलाई बुझ्न सकिन्छ । यो समयका भोगाइलाई मनन गर्न सकिन्छ । कविले भोगेको समय र आमसमाजले भोगेको समय एउटै हो तापनि एउटा कविको क्षमता र दक्षता कवितामा देखिन्छ ।  

रिमा केसीका कविताहरूको एक तिरले कैयौँ विकृतिमाथि प्रहार गरेका छन् । हरेक क्षेत्रमा देखिएको विकृतिले थला पारेका पौरखी हातहरूलाई उत्साह भर्ने काम उहाका कविताले गरेका देखिन्छन् । वर्तमान समयमा कविताका स्वरूप बदलिइरहेका छन्, पुरातन समाजबाट हामी निस्कन सक्नु पर्छ भन्ने सोच कविताका राम्रा पक्ष हुन् । 

‘बगावतनामा’ भित्र मजदुरका, आमाका, योद्धाका, प्रेमका तथा वर्तमान मान्छेका कथा छन् । कवितामा वर्तमान समयले भोग्न बाध्य बनाएका दारुण चीत्कार तथा यी चीत्कारबाट मुक्तिको कामना गर्ने आवाज छन् । वर्तमान समयको वेमेल राजनीतिक चित्र तथा कुनै तन्त्रले पनि सम्बोधन गर्न नसकेको पीडितहरूको सामूहिक आवाज छन् । साथै आफू र आफ्नो परिवारको भविष्यका खातिर परदेशमा बगेका पसिनाका थोपा थोपा सिञ्चन गरिएका छन् कवितामा । धेरैले आमाका महानताका कविताहरू कोरेका छन् तर आमाको पीडा महसुस गरेका छैनन् । उहाँ कवितामार्फत आमाको भित्री पीडाका कथा लेख्नु पर्छ भन्ने ठान्नुहुन्छ । अबको युगमा हरेक आमा क्रान्तिको ज्वाला बोकेर बाँच्नु पर्छ भन्ने ठान्नुहुन्छ । बर्सौंदेखि दबाएका आमाका चाहनामाथि अब आफैँले धावा बोल्नु पर्छ भन्ने ठान्नुहुन्छ । ‘आमा खाने माकुराहरूको नाममा’ शीर्षक कविताका हरफहरूले एउटा शालीन विद्रोहको सुरुवात गरेको पाइन्छ । हेरौँ केही हरफ : 

भोलि कुनै अखबारले नलेखोस्

दाइजो नपाएको निहुँमा

कसैमाथि निर्घात कुटपिट

छोरी पाएका कारण कोही घरनिकाला । 

कविताको शक्ति भनेकै यही हो । यसकारण पनि ‘बगावतनामा’ का कविता वर्तमानका शक्तिशाली कविता हुन् । 

उनी कवितामार्फत समयका दस्तबेजलाई एकीकृत गर्न रुचाउनुहुन्छ । व्यङ्ग्यचेतसहित यथार्थ पस्किन्छन् । र, यथार्थवादी धरातलमा सिर्जित यी कविता वर्तमान युुगको साक्षी हुन् । विषयवस्तुको दृष्टिकोणबाट ससाना कसैका दृष्टि पर्न नसकेका लाग्छन् नै तर प्रस्तुतिपछि ती कविताले बोकेका गहनताले ‘बगावतनामा’ सङ्ग्रहको ओज बढाएको महसुस हुन्छ । 

सङ्ग्रहका कविताहरूले अनेकन प्रश्न उजागर गरेका छन्; जो समाजले अपहेलित गरिरहेका धेरै कुरामाथि एउटा सचेत लेखकले प्रश्न उठाउनु अवश्य पर्छ । ‘कस्तो हुन्छ खुसीको रङ ?, कस्ता हुन्छन् सुख र दुःखका अलग अलग रङ्हरू ?, कसैले देखेको छ विधवा आँसुको धमिलो रङ ?, कहिले आउँछ छोरीहरूले मान्छे भएर बाँच्ने दिन ?, कहिले भत्किन्न् छाउगोठहरू ?’ कवितामा शब्द सिञ्चन गर्ने शैलीले पनि यी कविता पठनीय लाग्छन् ः 

 कोही त ब्युँझ अब

आऊ मिलेर बन्द गरौँ

यो कुरूप दृश्यको मञ्चन ।

कविताका यी हरफहरूले सदियौँदेखि चलिरहेको कुरूप दृश्यको मञ्चनलाई निमिट्यान्न पारेर नयाँ नौलो समाजको निर्माण गर्न प्रेरित गरिरहेका छन् । यस सङ्ग्रहमार्फत कविको चाहना छ– दासताको आदत, बेइमानको आदत, चाकरीको आदत, धोकाधडीको आदत र लुटको आदतलाई जरैदेखि उखेल्नु । त्यसैले त यी कविता प्रेमसँगै विद्रोहका आवाज पनि सँगसँगै हिँडिरहेका छन् ।