• ८ पुस २०८१, सोमबार

नाटकमा नहारेको एक प्रोटागोनिस्ट

blog

सुकृत नेपाल 

काठमाडौँ, वैशाख ८ गते । विमल सुवेदी नेसनल स्कुल अफ ड्रामा (एनएसडी) का उत्पादन हुन् । उनीभन्दा अघि सुनील पोखरेल र अनुप बरालले एनएसडीबाट दीक्षित हुने मौका पाएका थिए । थिएटर भिलेजसँग आबद्ध उनी अभिनय र निर्देशनलगायत सेट डिजाइनमा पनि पारङ्गत छन् । उनले निर्देशन गरेका नाटकहरू यार्मा, मालिनी, ह्याम्लेट, सान्दाजुको महाभारत, मकैको अर्को खेती र साबिति उल्लेख्य छन् । परम्परागतभन्दा नाटकमा भिजुअल मिडियमलाई खोज्न रुचाउँछन् । उनका नाटकहरूमा कथासँगै भिजुअल पोयट्री पनि भेटिन्छ । उनकै डिजाइन र निर्देशनमा यही हप्तादेखि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ राजधानीस्थित मण्डला थिएटरमा वैशाख ९ देखि मञ्चन हुँदैछ । प्रस्तुत छ उनीसँगको सङ्क्षिप्त कुराकानीः

कस्तो हुँदैछ पल्पसा क्याफेको तयारी ?

रिहर्सलको अन्तिम चरणमा छौँ । अन्तिम चरणका कामहरू द्रुत गतिमा भइरहेको छ । चुनावको चहलपहल चलिरहेको छ र हाम्रो नाटक पनि राजनीतिक विषयवस्तुमा आधारित छ । हामीले यसलाई दर्शकसँग कनेक्ट गराउने विभिन्न एलिमेन्ट खोजेका छौँ । 

पल्पसा क्याफे नै रोज्नुको कारण ?

केही वर्षअघि पोखरामा एउटा प्ले मेकिङ वर्कसप भएको थियो । त्यसमा द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकहरूको विषयमा नाटक गर्ने तय गरियो । मेरो भूमिका सहजकर्ताको थियो । नाटक बनाउने क्रममा आफन्त पर्खिरहेका परिवारका सदस्यहरूसँग प्रत्यक्ष कुरा पनि भएको थियो । मैले प्रत्यक्ष रूपमा भोगेको र देखेको द्वन्द्वको त्यो फरक पाटो थियो । द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि नसुल्झिएको यथार्थ थियो । त्यसैले यो नाटक गर्ने बीज त्यतिबेलै रोपिएको हो ।  

एउटा पुस्तकलाई नाटकमा उतार्न कति गाह्रो हुँदो रहेछ ?

सजिलो र गाह्रो दुवै छ । सजिलो किन भने कथा खोजिरहनु पर्दैन । पात्र खोजिरहनु पर्दैन । पृष्ठभूमि, भाव, केन्द्रीय विषयवस्तु सबै उपन्यासमा हुन्छ । तर गाह्रो ती सबै कुरालाई विश्वासयोग्य र इमानदार रूपमा मञ्चमा देखाउँदा अनेक चुनौती आइसक्छन् । अनि चर्चित किताब भएकाले पात्रहरू पाठकको दिमागमा बसिसकेका हुन्छन्, त्यसले पनि एउटा ठूलो जिम्मेवारी बोध गराइरहन्छ । 

छापिएका पुस्तकका नाटक बन्नु नयाँ कथा नपाएर हो ?

मलाई यो प्रश्न यसरी सोधिनुपर्छ भन्ने नै लाग्दैन । किनभने नाटक साहित्यको एक ठूलो हिस्सा हो । साहित्य रूपान्तरणका लागि नाटक हरेक कालखण्डमा उत्तिकै महìवपूर्ण माध्यम हो । यसैले पुस्तक नाटकमा आउनु आफैँमा सुखद कुरा हो । विश्वको रङ्गमञ्च र साहित्यिक इतिहासलाई हेर्ने हो भने यो बहसको विषय नै हैन । अस्कर अवार्डमा पनि बेस्ट अडप्टेड स्क्रिनप्ले भन्ने छुट्टै विधा छ । बरु पुस्तकहरू नाटक वा चलचित्र रूपान्तरित भएर फरक विधामा जाने कुरा स्वाभाविक किन लागिरहेको छैनन् र धेरै काम त्यसरी किन भइरहेका छैनन् भन्ने प्रश्न चाहिँ महìवपूर्ण प्रश्न हो । 

पल्पसा क्याफे पढिसकेकाले नाटक हेर्नु कत्तिको सान्दर्भिक होला ?

पाठकहरूको आआफ्नै बुझाइ हुन्छ । हाम्रो आफ्नै छ, हामीले यसलाई नयाँ तरिकाले बुझ्ने र खोज्ने प्रयत्न गरेका छौँ । नाटक हेर्ने नियमित दर्शकको लागि त नाटक किन हेर्ने भनेर प्रश्न सोध्नु नै पनि उपयुक्त हुँदैन । विशेषतः यो नाटक किन हेर्ने भनेर भन्नै पर्दा नेपालको साहित्य र राजनीतिलाई नाटकको माध्यमबाट एकै ठाउँ हेर्न चाहनेलाई यो उपयुक्त अवसर हुनेछ । 

तपाईंहरूको थिएटर भिलेजले आफ्नै स्पेस कहिलेसम्म पाउला ?

जग्गाकै झमेलाहरूले गर्दा अड्किरहेको हो । धेरैले धेरै वचन दिए तर ती पूरा भएनन् । नेपालको लगभग हरेक क्षेत्र खराब राजनीति र दलालहरूबाट भरिएको छ । त्यसमा कलालाई सधैँभरि अप्ठ्यारो नै छ किनभने यसको प्रभाव तत्कालै देखिँदैन । कसैले यसलाई सहयोग गर्दा प्रत्यक्ष फाइदा पनि भेट्दैनन् । यसले त उल्टै बलियो प्रश्नहरू गर्छ । नेपालका धेरै सरकारी संस्थालाई त प्रश्न पनि मन पर्दैन । 

थिएटरका लागि ठाउँ खोज्दा अनुभव चाहिँ कस्तो रह्यो ? 

मैले यो जग्गाको प्रक्रियामा जति लामो यात्रा गरेँ त्यसले नेपाली व्यवस्थाको धेरै चरित्रहरूसँग साक्षात्कार गर्ने मौका पाएँ । मैले लगभग २०/२५ वटा देशमा काम गरेँ । नीति र सरकारी दुवै निकायहरूसँग नजिक भएर काम गरेँ । त्यहाँ उनीहरूको देशको पहिचान भनेको कला संस्कृतिमा नै आधारित रहेर निर्धारित भएको हुन्छ । धेरै देशहरूमा थिएटरका लागि भनेर बजेटकै पनि व्यवस्था गरिएको हुन्छ । हामीले त बजेट पनि मागेका हैनौँ । सरकारसँग थोरै सहजीकरण मागेका थियौँ । व्यक्तिगत रूपमा मलाई धेरै देशहरूबाट थिएटर गर्न मौका आएको छ । त्यहाँ गएर काम गर्दा मलाई जग्गा दिन्छु भनेका छन्, बोलाएका छन् । आफ्नै देशमा भने अवस्था प्रतिकूल छ । तर मैले अझै हिम्मत हारेको छैन । म अनेक बाधा सहेर यहाँ नै केही गर्न चाहन्छु ताकि म जस्तो अर्को व्यक्तिले मेरो जस्तो तीतो यात्रा गर्नु नपरोस् ।