काठमाडौँ, साउन २४ गते । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल धार्मिक सहिष्णुताको नमुना रहेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजित समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
सञ्चारमन्त्री गुरुङले भाषा, भेषभूषा तथा पहिचानको संरक्षण गर्नुपर्ने भन्नुहुँदै समग्रमा सिङ्गो नेपाली जनताका लागि राजनीति गर्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “भेषभूषा, पहिचान, भाषाको संरक्षण गर्न जरुरी छ । सबैको आ-आफ्नै फरक संस्कृति छ । खानाको संस्कृति छ । चाडपर्व मान्ने तरिकाभित्र संस्कृति छ । धर्म, संस्कृति अरुको मानेर नाम चाहिँ किरात चाहियो भन्नुको अर्थ हुँदैन । आफ्नो सिङ्गो नेपाली जनताको लागि राजनीति गर्नुपर्यो । यी सबै कुराका लागि आदिवासी दिवसले प्रेरणा दिनुपर्यो ।”
उहाँले भाषा, भेषभूषा, परम्परागत ज्ञान तथा संस्कृतिको संरक्षण गर्नुपर्ने भन्नुहुँदै संस्कृतिले सबै शक्तिलाई एकीकृत गरेर राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संस्कृतिले सबै शक्तिलाई एकीकृत गरिराख्छ । धार्मिक सहिष्णुताको नमुना अब्बल छ नेपाल । एउटा संस्कृतिले अर्को संस्कृतिलाई सम्मान गर्छ । धेरै साँस्कृतिक सहअस्तित्व र धार्मिक अस्तित्व नेपालमा छ ।”
नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङसँग गरिएको भिडियो कुराकानी
उहाँले नेपालको संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले सम्झौता गरे अनुसार आवश्यक बुँदामा संविधान संशोधन हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “संविधानमा लेखेका कुरा कार्यान्वयन हुन सकेको छैन । त्यो आफ्नै ठाउँमा छ । संविधान संशोधन गर्ने कुरा २०८४ सम्म हाम्रो सरकार रह्यो भने संविधानको आवश्यक बुँदा संशोधन गरेर जान्छौं ।”
मन्त्री गुरुङले आफ्नै संस्कृतिको पालना र अभ्यास गर्ने, जल, जङ्गलको नजिक बस्ने आदिवासी समुदायको परिभाषा अलग्गै रहेको बताउनुभयो ।
नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषाको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले मातृभाषाको संरक्षणसँगसँगै नेपाली, अङ्ग्रेजी लगायत भाषाको ज्ञान बढाउनुपर्नेमा जोड दिनुभयो ।