नेपाल सांस्कृतिक दृष्टिले अत्यन्त स्मृद्ध छ । संस्कृतिका अनेकौँ प्रचलनमा गाईजात्रा सर्वाधिक जनप्रिय छ । गाईजात्रासँग हास्यव्यङ्ग्य पनि जोडिएकाले यो जात्रा सबैको रुचिमा परेको छ । नेपालमा हास्यव्यङ्ग्यको इतिहास लामो छ । नेपाली संस्कृतिमा हास्य परम्परा समृद्ध छ । गाईजात्राले पनि धेरै प्रकारको हास्यलाई उजागर गर्दछ । नेपालमा गाईजात्रा चौधौँ शताब्दीदेखि चलेको केही छनक देखिए पनि सत्रौँ शताब्दीदेखि काठमाडौँ उपत्यकाका तीन राज्यमा यो परम्परा प्रचलित भएको बुझिन्छ ।
काठमाडौँ तीन राज्यमा रहँदा काठमाडौँमा संवत् १६९८ ताका १८ वर्षका राजा प्रताप मल्लले राज्य गर्थे । उनका राजकुमार बाल्यकालमा नै बिते । यसको शोकले रानीलाई असह्य पीडा भयो र उनको शोक हटाउन नसकेपछि राजाले यस्तो दुःख राज्यका अरूलाई पनि परेको छ भन्दा पनि शोकमुक्त गर्न नसकेपछि यस्ता शोकमग्न घरबाट प्रदर्शन गर्न उर्दी जारी भयो । राजाको आदेशमा शोकसन्तप्त घर घरबाट रानीलाई चित्त बुझाउन र हँसाउन झाँकीहरू निस्किए । योदेखि रानीले चित्त बुझाइन् । यसरी प्रारम्भ हुँदै गाईजात्रा सबै जसो बृहत् बस्ती, गाउँ, टोलमा मनाउन थालियो । काठमाडौँमा प्रताप मल्लले यो जात्रा प्रारम्भ गरेको बताइन्छ । ललितपुर र भक्तपुरमा पनि गाईजात्रा त्यसै ताका चलेको बुझिन्छ । तिनै सहर र नेपालका विभिन्न बस्तीमा यो पर्व धुमधामले मनाइन्छ । काठमाडाैँभित्र पनि बाक्ला बस्ती क्षेत्रमा छुट्टाछुट्टै रूपमा मनाइने गरिन्छ । टोखा, थानकोट (सोनितपुर), कीर्तिपुर, मध्यपुर ठिमी जस्ता बाक्ला नगर बस्तीमा गाईजात्रा रमाइलो रूपमा मनाइन्छ । ललितपुरको पाटनमा भव्य रूपमा मनाउनुका अतिरिक्त मट्याहा (मतितया) पनि धुमधामले मनाइने गरिन्छ । भक्तपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा विशिष्ट देखिन्छ । गाईजात्रालाई परम्परागत रूपमा सापारु अर्थात् गाईपर्वका रूपमा प्रतिपदामा मनाउने भक्तपुरको तामझाम विशिष्ट छ । यसको प्रदर्शन र घिन्ताघिसी ट्वाक जस्तो लट्ठी नृत्य, विभिन्न प्रयोजनका प्रतीकात्मक बाँस र कपडाले बनेका अग्ला खट (ताहासा, तामचा, भैरसा, डोकोसा आदि) को झाँकीले नगर परिक्रमा गरिन्छ । भक्तपुरमा धेरै प्रकारका झाँकी निकालिन्छ । पाटनमा भाँडा गुडाउनेदेखि ख्याली गर्ने चलन छ । पाल्पा तानसेनमा भजन गर्नेदेखि सबैमा गाईको चित्र पेरुङ्गामा टाँसी सहरबजार घुम्ने गरेको पाइन्छ । विगत एक वर्षभित्र शोक परेका घर घरबाट प्रदर्शनमा सहभागीलाई गाईजात्रा झाँकीमा खाना, पानी दिने चलन पनि छ ।
गाईजात्रा विश्वका कुनै पनि जात्राभन्दा भिन्न विशेषता भएको र देशमा धेरै जनता संलग्न हुने हँुदा नेपालको सबभन्दा ठुलो जात्राका रूपमा रहेको छ ।
काठमाडौँ उपत्यकामा व्यापक रूपले गाईजात्रा गरिन्छ । यहाँ प्रहसन प्रदर्शन, हास्य प्रकाशन र टेलिभिजनमा हास्य प्रस्तुतिका अतिरिक्त रङ्गरमिताका रूपमा बिहानदेखि बेलुकीसम्म यो जात्राका अतिरिक्त हास्य कार्यक्रम हुने गर्छ । यो दिन उपत्यका बिदा रहन्छ । गाईजात्राको उपलक्ष्यमा हास्यव्यङ्ग्य कार्यक्रम सप्ताहव्यापी रूपमा सञ्चालन हुन्छ ।
काठमाडौँ उपत्यकाबाहिर बनेपा, पनौती, धादिङ, धनकुटा, जुम्ला, पाल्पा, पोखरा, सल्यान फलाबाङ, भोजपुर, वीरगन्ज, विराटनगर, चैनपुर, दोलखा, धरान, हेटौँडा, इलाम, खोटाङलगायत नेवार बसोबास क्षेत्र र देशका विभिन्न स्थानमा गाईजात्रा गरिन्छ । गाईजात्रा नेपालको आफ्नै मौलिक परम्परा हो । हालसम्म यो नेपालमा मात्र हुने गरेको छ । गाईजात्रालाई कुनै कुरामा विकृति, विरोधाभास र बेताल देखिए मान्छेलाई ‘गाईजात्रे’ र बिग्रे वा बिगारे ‘गाईजात्रा भयो’ भनिन्छ । देशमा राजनीति बिग्रँदा पनि ‘गाईजात्रा भो’ भनिन्छ । ‘गाईजात्रा भयो’ भन्ने सचेतनाले गुणात्मक कर्म सङ्केत गर्छ ।
हास्य परम्परामा पाटनमा प्रचलित कात्तिक नाच सिद्धिनरसिंह मल्लले प्रारम्भ गरी यसमा बाथ अर्थात् बाठोको हास्य मञ्चन पनि हालसम्म चल्दै आएको छ । चार चोर चार दोबाटामा बसी बोका लिएर आउने बटुवालाई कसरी जाल रचेर बोकालाई कुकुर बनाई सोझा जनतालाई ठगेर खान्छन् ? भन्ने कुरा आज पनि एक छाक मासुभात ख्वाएर ठग्ने परिवेशसँग ठ्याम्मै मिल्छ भने हुन्छ । गाईजात्रा नेपाली समाजमा विकृति प्रदर्शनको एउटा प्रतीकका रूपमा पनि परिचित छ । विकृति, बेथिति, विडम्बना आदि विद्रूप रूपलाई ‘गाईजात्रा भो’,
‘गाईजात्रे ताल’ भनेर बुझ्न थालेको छ । प्रहरीको ड्रेस लगाएपछि सर्वसाधारणका रूपमा हिँडेका उच्च पदकालाई कठालो समाउने, राजनीतिको प्रभावमा हतकडी लाउने नलाउनेदेखि
‘त्यो पर्दैन’ भन्दै नियम भत्काउने असल चरित्र भएको दुनियाँमा अन्यत्र देखिन्न । हास्यव्यङ्ग्य पनि पक्षपाती हुँदै गएको वा लगिएको अर्को विडम्बना ! मन्त्री पदमा पुग्नेबित्तिकै जाँचमा आलु खाएर स्कुलै नसकी विद्वान्मा दरिएका कुर्सीमा बसेपछि सबै जान्ने र साधु बिरालाको अनुहारमा दुध चोर्ने र मौका पाउँदा नोटको बिटो सोर्नेले जनता लाटो सम्झेको कुरा यति नै सत्य छ जति जनतालाई जनताकै भोटले हैकम चलाउने हाकिम बन्ने राजनीतिकर्मीको प्रवृत्तिजन्य विकृति चलेको छ । यस्ता निमेकहराम, देखादेखको बिराम कसले हेर्ने ? यसमा हास्यव्यङ्ग्यको दरो कलमको लट्ठीले ठोक्ने काम गर्छ नै । नेताले लेखकलाई दुई/चार वर्ष जेल हाल्ने प्रपन्च रच्न सक्छ तर कलमले मलहमै लाउन नसक्ने चहराइरहने घाउ सात पुस्तासम्म पुग्ने गरी जखम पु¥याउन सक्छ । हास्यव्यङ्ग्यले सुधारकै लागि काम गर्छ किनकि हास्यव्यङ्ग्यकारले कहिल्यै कातिल काम गर्न सक्दैन र शुद्ध भावले ब्रह्मले देखेको कुरा कलमले पोखेको हुन्छ । आमशिक्षाको सन्देश दिने सुधारोन्मुख चेतनामा हास्यव्यङ्ग्यको परम्परा रहेको छ । गाईजात्राको उत्पत्ति हेर्दा पनि यसले मानवमा ठुलो दार्शनिक सचेतना ल्याउने नेपाली परम्परा उत्कृष्ट नै देखिन्छ । यो जात्रामा सर्वाधिक जनता सहभागी हुन्छन् र आफन्त गुमाएको स्मृतिमा पीडा बिर्साउने हस्सीठट्ठा र ख्याली प्रस्तुत गर्छन् । सम्भवतः विश्वमै धेरै मान्छे सहभागी हुने जात्रामा गाईजात्रा पर्दछ । गाईजात्रा प्रदर्शक र दर्शक गाउँसहर चारै खुटबाट ओइरिएको देखिन्छ । गाईजात्राको झाँकीले विगत वर्ष मृत्युको जनसङ्ख्याको आकलन गर्ने भए पनि अहिलेको झाँकीले राष्ट्रमा भ्रष्टाचारदेखि विग्रहलाई इङ्गित गरी समाजलाई सजग रहने दृष्टि प्रदान गर्दछ ।
यसैले राणाकाल जस्तो कडा हुकुमी शासनमा पनि गाईजात्रा राणा, दरबार र सार्वजनिक चोक, डबली, बहालमा र सडकमा प्रदर्शन हुने गथ्र्यो । अहिले नगरको विभिन्न भागमा परिक्रमा गर्ने, आधुनिक मिडियामा देखाउने प्रचलन पनि थपिएको छ ।
हास्यव्यङ्ग्यबाट समय अनुकूल जनताको दुःख पीडा उद्बोधन हुने हुँदा २०३३ सालबाट प्रज्ञा–प्रतिष्ठानमा हास्यव्यङ्ग्य महोत्सव थालिएको हो । हास्यव्यङ्ग्य विधाको जगेर्ना गर्न राजकीय प्रज्ञा–प्रतिष्ठानमा एक हप्तासम्म हास्यव्यङ्ग्य सम्मेलन सञ्चालन हुन थाल्यो । देशभरबाट छानिएका प्रस्तुति चयन हुन्थे । प्रदर्शनमा पहिलो दिन राजा, राजपरिवार, प्रधानमन्त्री र मन्त्रीहरू, सांसदहरू, सरकारी उच्च पदस्थ कर्मचारी, विश्वविद्यालयका प्राध्यापक, विद्वान्, अग्रज, दिग्गज, साहित्यकार, समाजसेवी सबैको प्रतिनिधिका रूपमा एकसाथ हेर्ने चलन प्रारम्भ गरिएको थियो । गाईजात्राको उपलक्ष्यमा हास्यव्यङ्ग्य विधाका लेखक, व्यङ्ग्य चित्रकार र प्रहसन कलाकारले त्यस अवसरमा प्रस्तुति दिन्थे र देशमा, समाजमा के भइरहेको छ त्यसको झलक र परिवर्तनको छनक दिन्थे । उच्च पदस्थ सतर्क हुन्थे । यस समय पत्रपत्रिकाले हास्यव्यङ्ग्य साहित्य, व्यङ्ग्य चित्रयुक्त अत्यन्त मार्मिक र प्रभावशाली प्रस्तुतिसाथ आफ्ना प्रकाशन बजारमा छ्यापछ्याप्ती पार्थे । यसले चेतनास्तर उठाउने र कुकृति गर्नेलाई सताउने, सरकारी संयन्त्रलाई सतर्क गराउने, आवश्यक परिवर्तनका लागि दिशानिर्देश गर्ने गथ्र्यो । यो परम्परा पछिको परिवर्तनले बढायो । देशभरका हास्य क्षेत्रका होनहार साहित्यकार, व्यङ्ग्य चित्रकार, प्रहसन कलाकार यो महोत्सवले धेरै जन्माएको थियो र देशलाई देशवासीलाई हाँस्ने अवसर दिएको र देशमा सुधारका लागि अपेक्षा गरिन्थ्यो । त्योपछि राजनीतिमा विभाजित केही कलाकारलाई मात्र च्यापी निरर्थक, अनर्गल र एकपक्षीय प्रदर्शनतिर गयो । गाईजात्राको अवसरमा गरिने प्रतियोगितामा छानिएकाको प्रदर्शन लोकतन्त्रमा आएर मासियो । यो विषय सबैका लागि राम्रो हुँदाहुँदै, हास्यव्यङ्ग्य सुधारसापेक्ष रहँदारहँदै सरकारलाई पाच्य भएन । लोकतन्त्रको छनक रहेन । जनताले आफूखुसी भिन्न भिन्न रूपमा गाईजात्रा महोत्सवमा प्रस्तुति दिन लागेको पाइन्छ । भाँडभैलो जस्ता गाईजात्राका अवसरमा निस्कने पत्रिकाको तारिख कामनाले धान्दै आए पनि गाईजात्रे समाचार र साहित्यका विशेषाङ्क अत्यन्त कम निस्कने गरेको देखिन्छ । वास्तवमा वर्षको एक पल्ट सबैले गाईजात्राको उपलक्ष्यमा हास्यव्यङ्ग्यलाई प्रस्तुत गरे समाज सुधार र मनोरञ्जनले हाँसीखुसीमा बल मिल्ने थियो ।
हास्यव्यङ्ग्यको जन्म नै पीडाबाट प्रारम्भ हुन्छ । लेखक, कवि, चित्रकार, कलाकार जस्ता समाजका विशिष्ट व्यक्तित्वले समाजको निकट रही समाजको ऐनाका रूपमा जुन सिर्जना प्रस्तुत गर्छन् त्यो स्वतन्त्रतामा कुनै पनि बाधा आउनु त्यो जघन्य अपराध हो । साहित्य, सङ्गीत, कला नहुँदा मानिस पशु समान हुन्छ भन्ने पूर्वीय मान्यतालाई विभिन्न युगमा नेपालका शासकले प्रथम पङ्क्तिमा राखी विकास हँुँदै आएको हो । निमुखा जन्ताको पीर, मर्का र समाजले भोग्नु परेको दुःख पीडालाई स्रष्टाले ऐनामा जसरी मुहार देखिन्छ त्यो उनीहरूको सिर्जनामा छर्लङ्ङ पारेको हुन्छ ।
नेपाली परम्परामा शोकलाई शक्तिमा बदल्ने परम्परा सर्वप्रथम गाईजात्राको उत्पत्तिले गरेको हो । नवजात शिशुको मृत्युमा एउटी आमा भएकी रानीले शोक थाम्न नसक्दा यस्तो पीडा भोगी देशमा अरू पनि छन् भन्दै चित्त शान्त पार्न एक वर्षभित्र दिवङ्गत भएको घर घरबाट झाँकी निकालेर पुत्रपीडित नारीको मन शान्त पार्न र हँसाउन जुन काम थालियो त्यो नै गाईजात्रा दर्शन हो । गाईलाई वैतरणी नदी तार्ने साधनका रूपमा धार्मिक मान्यतामा पनि महìव हेरी संरक्षणको सत्य लुकेको देखिन्छ । मान्छे आखिर मर्छ मर्छ । यो शाश्वत सत्य भए पनि सधैँ मृत्यु सम्झेर विरहमा बिताउनुभन्दा जीवनलाई बुझेर आफ्नो जीवन हाँसीखुसीमा बिताउनु जाती भन्ने कुरा आत्मसात् हुनु मानव कल्याणकारी मार्ग हो । मानिस जन्मँदा आफैँ रुन्छ, मर्दा अरूलाई रुवाउँछ । अतः जीवनारम्भ र मृत्युसम्मको समय हाँसीखुसीमा बिताउनु बुद्धिमानी हुन्छ भन्ने भनाइ साश्वत सत्य हो र यो नै गाईजात्राभित्रको दर्शन पनि ।
आजको दुनियाँ जटिल बन्दै छ । मानिस समस्याले आक्रान्त छ, बढी महìवाकाङ्क्षाले । सरल जीवन जिउनेभन्दा विलासितामा बाँच्न खोज्दा हुने दबाबले हर्टअट्याक, आत्मघाती कर्म र आत्महत्या जस्ता घटना बढ्दै गएको देखिन्छ । आफ्नो कुकृत्य ढाकछोप गर्न राजनीतिले विश्वभर नै आफू अनुकूल नहुँदा वा जनता विरोधमा उत्रँदा पत्रकारको सचेतना प्रस्तुति खप्न नसकेको, व्यङ्ग्य चित्रकारलाई कारबाही चलाएको, लेखकलाई नसहेको अनेकौँ घटना विश्वव्याप्त छ । हास्य जस्तो पवित्र र महान् कल्याणकारी विषयले मानव कल्याणका लागि चौतर्फी शोधखोज, सिर्जना चर्चा, परिचर्चा, हास्यका विविध पाटामा अध्ययन अनुसन्धान आधुनिक समयमा हुँदै आएको छ । विश्वमा रहेका यस्ता संस्थामा अन्तर्राष्ट्रिय हास्य अध्ययन समाज (आइएसएचएस) विश्व प्रसिद्ध छ । यसले यो वर्ष अन्तर्राष्ट्रिय हास्य सम्मेलन पोल्यान्डको क्राकाओ नगरमा भव्यतासाथ सम्पन्न गरेको थियो । असारको २३ देखि २७ सम्म सञ्चालन भएको सो सम्मेलनमा विभिन्न देशका हास्यकर्मी लेखक, शोधकर्ता, प्राध्यापक, विज्ञ, व्यङ्ग्यचित्रकार र हास्यका अनेक क्षेत्रमा लागिपरेका दुई सय जति प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो । सम्मेलनमा हास्य सम्बद्ध विषयमा अनुसन्धानमूलक लेख, अध्ययन प्रस्तुत गरिएको थियो ।
विश्वका हास्य अनुसन्धान र बौद्धिक खोजको कुरा गर्दा हाम्रामा पुरानोबाट नवप्रवर्तनीय खोज सुरु नै नभएको देखिन्छ । विश्वमा हास्यलाई विभिन्न विषयसँग जोडी अध्ययन, अनुसन्धान भएको देखिन्छ । हाम्रोमा व्यक्ति कृतिभन्दा हास्य सम्बद्ध पृथक् अध्ययनको प्रारम्भ हुन बाँकी नै छ । मौलिक सिर्जना ठिकै भए पनि हास्यका विभिन्न पक्षमा अनुसन्धान खोज प्रारम्भ नै हुन सके जस्तो देखिन्न ।
पोल्यान्डमा भएको ३४ सौँ हास्य सम्मेलनमा सहभागी हुनुअघि यस पङ्क्तिका लेखकले अस्ट्रेलिया, जापान र इटालीमा अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा सहभागी हुने अवसर पाएको थियो । नेपाली हास्यव्यङ्ग्यको संस्कृति, व्यङ्ग्यचित्र र राजनीति आदिको र यो चौथो सम्मेलनमा हास्योपचारबाट किशोरको चरित्र निर्माणको उपचार सम्बद्ध पेपर प्रस्तुत गर्नुका अतिरिक्त कार्यक्रम समाप्तिमा प्रीतिभोजमा सम्बोधन भाषण दिने सौभाग्य नेपालले मात्र पाएको थियो । यो सम्भाषणमा लेखकले सहरी क्षेत्रमा हास्य हराउँदै गएको, अबको युवा पुस्ताले हास्य ओलम्पिक गर्ने अपेक्षासाथ नेपालमा हाँस्ने घरको योजना गरिएको कुरा व्यक्त भएको थियो ।
हास्यले हित गर्छ । हास्य लेखन, कार्टुन आदि पत्रपत्रिकामा प्राथमिकतासाथ छापिनु पत्रिकाकै लागि पनि लाभदायी हुन्छ र पाठक बढी समाजमा सकारात्मक सन्देश दिन सक्षम हुन्छ । प्रज्ञाले प्रतियोगितात्मक कार्यक्रम र रेडियो अन्य मिडियामा हास्यरस समावेश हुनु जरुरी देखिन्छ । हास्यरस हितकारी हुने हुँदा हास्य सबैको प्रिय भएको देखिन्छ ।
गाईजात्राको उच्च दर्शन, सांस्कृतिक गरिमा र मानवीय मूल्यलाई हेर्दा यो जात्राको अनुसन्धान, संरक्षण, प्रसारण, हास्यलाई संस्थागत प्रवर्धन गरिनु आवश्यक छ । मानव सभ्यतामा यति राम्रो जात्रा कमै भएकाले यसलाई त्यही तहमा उठाउन थप के गर्न सकिन्छ ? यसतिर आधिकारिक निकायले योजना सञ्चालन गर्न वाञ्छित छ ।
प्रत्यक जिल्लामा आफूले चाहेको बोल्न, देखाउन र सकारात्मक, नकारात्मक प्रस्तुति दिन पाउने र डबली परिसरभित्र कुनै नियम, कानुन, बार बन्देज, निषेध नगरिने, दोष नलाग्ने सभागृह जस्तो खुला क्षेत्र जनस्थल तोक्ने र त्यहाँ प्रस्तुत सबै कुरा सांसदले जनआवाजका रूपमा सरकारसम्म पु¥याउन सके देशमा जनताले चाहेको कुरा ठाउँमा पुग्थ्यो कि ? सार्वजनिक सुनुवाइ, हेलो टेलिफोन सुनुवाइ, उजुरीपेटिका र सोझै माथ्लो निकायसँग वार्तामा नअटाउनेलाई यस्तो खुलामञ्चले केही स्वतन्त्रताको अनुभूति होला कि ? सोचनीय छ । हास्य प्रवर्धनमा सम्बद्ध संस्था र व्यक्तित्वको सक्रियतामा नेपाली समाजलाई सुख शान्ति प्रदान गरी हास्यमय बनाउन सबैमा प्रस्ताव पेस गर्दछु । गाईजात्राको हास्यमय शुभकामना पनि टक्राउँछु । जय हास्य ।