• २४ साउन २०८२, शनिबार

एक्लो व्यक्तित्वका सङ्घर्ष कथा

blog

समाजसँग सम्बन्धित हुने भएकाले राजनीतिलाई समाजशास्त्रको एक भाग पनि मान्न सकिन्छ । जनताको शान्तिसुरक्षा कायम गर्ने, उनीहरूको मोलिक हक र अधिकारको संरक्षण र कदर गर्ने, राष्ट्रको शासन–व्यवस्था सम्बद्ध सम्पूर्ण प्रणालीको निर्माण गरी मूल रूपमा देशकै शान्ति, सुव्यवस्था अनि नागरिकको सुख–सुविधा र समृद्धिका लागि प्रयत्नशील हुने र रहने मेरुदण्ड हो– राजनीति । हालै प्रकाशित ‘लोकतान्त्रिक समाजवादका भाष्यकार : प्राडा यज्ञप्रसाद अधिकारी’ शीर्षकको यो कृतिले मूल रूपमा यही यथार्थमाथि गहन विश्लेषण गरेको छ । 

प्राडा यज्ञप्रसाद अधिकारीसम्बद्ध विविध आलेखले भरिएको यो कृति उहाँको एक्लो व्यक्तित्व र सङ्घर्षमा आधारित जीवनवृत्तलाई उजागर गर्ने एउटा महत्वपूर्ण कृतिकै रूपमा प्रकाशित हुन पुगेको पाइन्छ । खासगरी यो कृतिमा अधिकारीका राजनीतिक जीवन–सङ्घर्षका विविध सन्दर्भ र आयाममाथि महत्वपूर्ण प्रकाश पारिएका छन् । यसभित्र केन्द्रित रही सत्तामा पुग्नासाथ राजनीतिप्रतिको पूर्वदृष्टिकोण र समाजवादी सोचप्रतिको पूर्वनिष्ठा र परिधिमा आउने र देखिने गरेको परिवर्तन, विचलन र फेरिएको दृष्टिकोणविरुद्ध अधिकारीले उठाउनुभएको आवाज र सङ्घर्षका कतिपय प्रसङ्ग पुस्तकभित्र समेटिएका छन् । देश र जनताको उन्नतिका लागि निःस्वार्थ मनले निरन्तर समर्पित भएर लागिपर्ने व्यक्तिका कार्य सदैव संस्मरणीय हुन्छन् भन्ने तथ्यमा पनि पुस्तकले प्रस्ट पार्ने काम गरेको छ । पद र प्रतिष्ठा प्राप्तिकै लागि सदैव नेता र सत्ताको वरिपरि परिक्रमा गर्नुभन्दा राजनीतिको उद्देश्य परिपूर्तिका लागि आफूभित्र रहेको इमानदारीबाट प्रभावित र परिचालित भएर सही अर्थमा समाजवादी समाज निर्माणका दिशामा निरन्तर प्रयत्नशील हुनुपर्ने आवश्यकतामा पुस्तकले महत्वपूर्ण प्रकाश पारेको छ ।

यसभित्र डा. यज्ञ अधिकारीका जीवनका विविध पक्षका अतिरिक्त उहाँभित्रको स्वाभिमान, बौद्धिकता, सत्यनिष्ठता, अधिकार प्राप्तिका लागि गरिएका सङ्घर्ष, लोकतन्त्रलाई संस्थागत र सार्थक गन्तव्य प्रदान गर्ने कार्यमा निर्वाह गरिएका भूमिका, उहाँमा अन्तर्निहित धीर, गम्भीर र सहनशील व्यक्तित्व, उहाँले लेखेका विविध कृतिमाथिको चर्चा, उहाँका प्राज्ञिक, शैक्षिक, राजनीतिक, साहित्यिक र प्रशासनिक आदि विविध गतिविधि र कार्य, उहाँभित्रको समाजवादी चिन्तन–चेतना आदि विविध गतिविधि र सन्दर्भमाथि पनि पुस्तकमा सङ्गृहीत विविध आलेखले गहन प्रकाश पार्ने सामथ्र्य बोकेका छन् । अवसरवादी चरित्र र वैचारिक विचलनप्रति पुस्तकले यथेष्ट प्रस्ट पार्दै त्यसको झाँको झार्ने प्रयाससमेत गरेको छ ।

डा. यज्ञ अधिकारीको जीवनवृत्त र उहाँको कार्यमा प्रकाश पार्ने क्रममा पुस्तकमा कुनै कुरा नलुकाई सबै यथार्थका पक्षमा सहज र स्वाभाविक वर्णन गरिएको प्रतीत हुन्छ । यो पुस्तकले जे बोलेको छ समसामयिक यथार्थ बोलेको छ । सबै वृत्तान्त यथार्थमा आधारित छन्, यथार्थवादी छन् । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सिके प्रसाईं, महेन्द्रनारायण निधि, प्रदीप गिरी आदि अनेकौँ समाजवादी चिन्तकसँगको संसर्ग र प्रेरणाबाट समाजवादी लोकतान्त्रिक व्यवस्थाको स्थापना, संरक्षण र संवर्धनको दिशामा समर्पित भावले संलग्न हुनुभएका अधिकारीका विषयमा पुस्तकका आलेखले अनेकौँ विश्लेषण गरेका छन् । डा. अधिकारीसम्बद्ध यो कृतिका विषयमा यसै पुस्तकमा आबद्ध डा. जगदीशचन्द्र पोखरेलको “यसभित्रका विषय समाजवादी चिन्तन र सङ्घर्षसँग जोडिएको हुँदा यो ग्रन्थ प्राडा अधिकारीको जीवनकथा मात्र नभएर समाजवादी चिन्तन र सङ्घर्षको इतिहास पनि हो” भन्ने भनाइसँग सहमति जनाउन सकिन्छ । 

नेपालका विविध बौद्धिक व्यक्तित्व र चिन्तकका आलेखले भरिएको यो बृहत् ग्रन्थमा समावेश सबै रचना पठनीय छन् । प्रा. पुरुषोत्तम दाहालको ‘समाजवादको समकालीन भाष्यकार : डा. यज्ञले न न्याय न उपचार’ शीर्षकको भूमिका, प्राडा नारायणप्रसाद खनालको सम्पादकीय, डा. टीकाराम गौतमको ‘लोकतन्त्र, नेपाली कांगे्रस र यज्ञ अधिकारीबारे मन छुने कुरा’, प्राडा कुलप्रसाद कोइरालाको ‘मेरा मानसपटलका प्राडा यज्ञप्रसाद अधिकारी’, डा. गोपाल शिवाकोटी चिन्तनको ‘बौद्धिक ज्ञान र इमानदारिताका सतीसाल : डा. यज्ञप्रसाद अधिकारी’, डा. जगदीशचन्द्र पोखरेलको  ‘डा. यज्ञ 

अधिकारी : अझैं चिन्नुपर्ने समाजवादी चिन्तक’, प्राडा बद्रीनारायण गौतमको ‘निष्काम कर्मयोगी तर उपेक्षित व्यक्तित्व : प्राडा यज्ञप्रसाद अधिकारी’, प्राडा धनेश्वर नेपालको ‘न्याय मरेको लोकतान्त्रिक देश र डा. यज्ञ अधिकारी’, सह प्रा. दिलबहादुर बोगटीको ‘नियतिको चक्रः यज्ञ र भुवन’ शीर्षकको आलेख अनि भुवन थपलियाको ‘संयोजकको मन्तव्य’ विशेष पठनीय सामग्री बन्न सकेका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा संलग्न रहनुभएका डा. अधिकारी राजनीतिक चेतनाका धनी व्यक्तित्व हुनुहुन्छ । सानै उमेरदेखि नेपाली कांगे्रसको सिद्धान्त र विचारबाट प्रभावित हुनुभएको उहाँ विद्यालय तहदेखि नै विद्यार्थी सङ्घमा आबद्ध हुनुभयो । उहाँ सानै उमेरदेखि प्रखर वक्ताका रूपमा सुपरिचित हुन थाल्नुभयो । वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियुको सभापति बन्न सफल उहाँले विद्यालयस्तरदेखि उच्च शिक्षासम्मको अध्ययनका क्रममा वैचारिक जागरणका साथ राजनीतिमा आफूलाई निरन्तर क्रियाशील तुल्याउनुभयो । यस सन्दर्भमा पनि पुस्तकमा यथेष्ट चर्चा गरिएको पाइन्छ ।  

उहाँ पटक पटक बन्दी बनाइनुभयो । यसरी अनेकौँ पटक जेलजीवन बिताउनुभएका डा. अधिकारीले मूल रूपमा पर्वत र चितवन जिल्लालाई आफ्नो राजनीतिको कर्मक्षेत्र तुल्याउनुभयो । यस क्र

ममा उहाँले अनेकौँ किसिमका अत्यन्त दुरुह अवस्थाको सामना पनि गर्नु प¥यो । ज्ञान–आर्जनप्रतिको तृष्णाकेन्द्रित हुटहुटीले वनारस हिन्दु विश्वविद्यालयबाट ‘नेपाली कांग्रेसको विदेश नीति’ विषयमा उहाँले विद्यावारिधिको उपाधि प्राप्त गर्नुभयो । उहाँले नेपाली कांगे्रसका तर्फबाट आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीको समुज्ज्वल भविष्य–निर्माणका दिशामा नै अग्रसर तुल्याउनुभयो । उहाँले नेपाली कांग्रेसलाई धेरै दिनुभयो तर यो संस्थाबाट उहाँले केही पाउनु भएन । यस अवस्थामा नेपाली कांग्रेस परित्याग गरी अन्य दलमा आबद्ध हुने सोच उहाँले कहिल्यै लिनु भएन । उहाँमा लोकतान्त्रिक समाजवादप्रतिको विचलन देखा परेन । जीवनयात्राका क्रममा निष्ठा, धैर्य, संयम, त्याग र समर्पण आदि सद्गुणलाई कहिल्यै नगुमाउनु भएका प्राडा अधिकारीले सत्ताप्रप्तिभन्दा लोकतान्त्रिक उन्नयनका पक्षमै आफूलाई समर्पित गर्नुभयो । लिनुभन्दा दिनुलाई नै सर्वश्रेष्ठ मान्नुभयो । यस सम्बन्धमा पनि आलेखमा मनग्गे परिचर्चा गरिएको पाइन्छ ।

विसं २०७५ देखि दुई/दुई पटक मस्तिष्कघात अनि पक्षाघातले पनि पीडित भएर रुग्ण अवस्थामा पुग्नुभएका प्राडा यज्ञप्रसाद अधिकारीको एक्लो व्यक्तित्व र सङ्घर्षका अभियान र आयामका सम्बन्धमा अनेकौँ किसिमका रोचक वर्णनले पुस्तक सजिएको छ । पुस्तकको अन्त्यमा ‘चित्रलहर’ शीर्षक अन्तर्गत प्राडा अधिकारीसम्बद्ध ३४ वटा चित्र समावेश गरिएका छन् । ‘प्रजातन्त्र संवर्धन केन्द्र’ द्वारा प्रकाशित झन्डै ५५० पृष्ठमा विस्तृत यो कृतिको प्रकाशन गर्ने क्रममा संयोजकका रूपमा भुवन थपलिया अधिकारीले प्रकाशनको दायित्व निर्वाह गर्नुभएको र प्राडा नारायणप्रसाद खनालले सम्पादकको जिम्मेवारी बहन गर्नुभएको छ ।