बिहानको लगभग ८ बजेको थियो । बाहिर सडकमा फाट्टफुट्ट मानिस ओहोरदोहोर गरिरहेका थिए । आकाशमा बादलको पातलो पत्र हावाको गतिसँगै घरी यताबाट उता अनि घरी उताबाट यतातिर बगिरेको थियो । बारीतिर हरिया मकै र तरकारीका बोटबिरुवा र झ्याङले प्रकृतिको हराभरापन प्रदर्शन गरिरहेका थिए । सधै झैँ त्यस दिन पनि ऋषि प्रातःभ्रमणबाट फर्केपछि बाहिर बरन्डामा बसेर पत्रिकामा आँखा डुलाइरहेको थियो, त्यै समयमा मोबाइलको घन्टी बज्यो र उसको ध्यान भत्कियो । हे¥यो, पहाडघरबाट काकाको रहेछ । उठायो ।
“हेलो बाबु ऋषि, म अङ्कल बोलेको,” उताबाट यसो भनेको सुनियो । “नमस्कार अङ्कल । आराम हुनुहुन्छ ?” शिष्टतापूर्वक ऋषिले वार्ताको मेसो जोड्यो । “अँ, म सन्चै छु बाबु । तिमीहरू सबैलाई राम्रै छ होला ?” औपचारिकतावश काकाले यसो भनेको सुनियो । “हजुर अङ्कल, यता सबै बेसै छ,” ऋषिले पनि सौहार्दपूर्ण रूपमा औपचारिकता निभायो । “म अहिले यतै छु, काठमाडौँमा । महाधिवेशनमा भाग लिन आएको । एउटा अभियानमा लागेको छु, यतिबेला । त्यही सिलसिलामा तिमीलाई पनि भेट्नु छ मैले । भरसक एक दुई दिन बस्ने गरेरै आउँला, नभए एकछिन चिया खाने गरी भने मात्रै पनि आउँछु म त्यता ।” काकाको वाणी एकदम सुकोमल र स्नेहले ओतप्रोत प्रतीत हुन्थ्यो । “अङ्कललाई यहाँ स्वागत गर्न पाउनु हाम्रो अहोभाग्य हो । जहिले अनुकूल मिल्छ पाल्नुभए हुन्छ,” प्रफुल्ल अनुहारमा ऋषिले उत्तर दियो र स्विच अफ ग¥यो ।
समय धेरै बलवान् छ । समयको भट्टीमा खारिएपछि वस्तु, मानिस र परिस्थिति सबैमा अकल्पनीय परिवर्तन आउँदोरहेछ । काका र ऋषिमा खासै भिन्नता थिएन । उनीहरूबिचमा जम्मा आठबर्से समयान्तरको एउटा सानो फासला थियो तर त्यो त्यही धर्को त थियो, जसले काका र उसको जीवनमा एउटा अर्थपूर्ण दुरीको अभेद्य किल्ला निर्माण गरेको थियो । काका आठका भएपछि मात्र उसले यस धरामा कोकोहोलो स्वर मच्चाउँदै माटोलाई पहिलो पटक स्पर्श गरेको थियो । ऊ आठ वर्षको शिशु हुँदा काका, पूर्वको क्षितिज रेखालाई निकै तल सतहमा छाडेर क्रमशः माथि आकाशमार्गमा अघि बढिरहेको बिहानीपखको तातो घाम जस्तै स्निग्ध आभाले भरिपूर्ण सोह्रबर्से किशोर भइसकेका थिए । अर्को आठ वर्षमा ऋषि पनि समयका पदचाप पछ्याउँदै पहिलेका काका जस्तै सूर्यको न्यानो, निग्ध आभाले भरिपूर्ण किशोरवयको हुँदा नहुँदै उनी सिङ्गो धरती उचाल्न उद्यतपूर्ण नौजवान भइसकेका थिए । उतिबेला बाघको जस्तो गर्जन भएका काकाको वाणीबाट यतिबेला सुमधुर सङ्गीतको धुन प्रवाह भएसरी मधुरस जस्ता स्नेही शब्द प्रस्फुटित भइरहेको सुन्दा ऋषि आफैँ तीनछक परेको थियो । विगतको तिनीहरूको जीवनका नानाभाँती कुरा ऋषिका मनमा उर्लिएर आउन थाले । पहाडका घाँचबाट रसाएर निस्केका छहरे, स्याटे, भिरपानी, कदमे र कुँएखोलाले निर्माण गरेका बेँसी र पाखोबारी, मान्छे ओहोरदोहोर गर्ने अनेक बाटा, वरपिपलका बोटसहितका चौतारा, ठाँटी, पाखो बारी, टारीखेत, बेलघारी, आँपको बगैँचा, कुँडहरको झम्म परेको समीको चौतारो, त्यसभन्दा तलको फाँटखेत र अगाडिपट्टि परापूर्वकालदेखि नित्य निरन्तर स्वाँ....! गरेर सुसाउँदै बगिरहेको मादी नदी, त्यसभन्दा पारिका फाँट, गाउँबेँसी, अझ परतिर देखिने घुर्मैला डाँडाकाँडा र पहाड, ऋषि वास्तवमा विगतको नोस्टाल्जियामा चुर्लुम्मै डुबेर त्यसैमा द्रवीभूत हुँदै गइरहेको थियो ।
भोलिपल्ट बिहान लगभग त्यै समयमा परतिरबाट एउटा खैरो रङको मोटरबाइक आयो र आँगन अगाडि रोकियो । अग्लो खाइलाग्दो जिउडाल, घिउ रङको दौरासुरुवाल, खरानी रङको इस्टकोटमाथि कालो कोट, शिरमा ढाकाटोपी, पाउमा काला जुत्ता, आँखामा सन ग्लास, काकाको व्यक्तित्व निकै आकर्षक थियो । ऋषि तल गेटसम्मै पुग्यो र काकालाई सादर नमस्कार ग¥यो । त्यसपछि तिनीहरू दुवै जना भित्र पसे ।
केही समय अनौपचारिक भलाकुसारी गरेपछि काकाले भन्न थाले, “हेर बाबु, अहिले गाउँ गाउँ जस्तो छैन । सुनसान छ । काम गर्न सक्ने मानिस कोही छैन । जनसङ्ख्या एकदम घटेर गएको छ । काम गर्ने मानिस पाइँदैन । भएको जमिन पनि बाँझै राख्नुपर्ने अवस्था छ । अशक्त वृद्धवृद्धा र बालबालिकाको आश्रयस्थल जस्तो बन्न पुगेको छ, गाउँ तर गर्ने के ? यहीँ बसौँ, विकास गरौँ भनेर सम्झायो, मान्छेहरू मान्ने होइनन्,” गाउँको अवस्थाको बेलिविस्तार लगाउँदै थिए, काका ।
“त्यै त अङ्कल, देशमा अवसरको कमी भएकै कारणले हाम्रो सक्षम जनशक्ति पलायन हुन पुग्यो,” ती दुवै काका भतिजा चियाको चुस्कीसँगै गफको गहिराइतिर गइरहेका थिए ।
“गाउँमा विकास भएकै छैन भन्ने कुरा पनि होइन । हाम्रो गाउँ पहिलेको समयमा त दुर्गमै हो तर अहिले बाटाघाटा बनेका छन् । साना खोलानाला र ठुला नदीमा गाडी कुद्ने पुल निर्माण भएका छन् । हाम्रै गाउँमा हाइस्कुल खुलेको छ । घरको भात खाएर पढ्न पाएका छन्, केटाकेटीले तर के गर्नु सामाजिक काम गर्न अघि सर्ने मानिस छँदै छैन । जो छन्, ती सबै पन्छन खोन्छन् । मेरै कुरा गरौँ न । ४० वर्ष भयो, कुलायन मन्दिरको अध्यक्ष बनेको म । पुग्यो, अब म सक्दिनँ, अरूले नै जिम्मा लिनुप¥यो भन्छु, कोही अघि सर्ने होइन,” उनी बेलिविस्तार लगाउँदै गए, “पहिला मन्दिर निर्माण गरिसकौँ, त्यसपछि सल्लाह गरौँला भन्छन् सबै ।” “कुन ठाउँमा बन्ने भयो हाम्रो मन्दिर ?” काकाको कुरामा कुरा मिलाउने सुरले ऋषिले प्रश्न ग¥यो । “उही कुलदेवताको पुरानो थान भएकै ठाउँमा । डिपिआर तयार भइसकेको छ । झन्डै आधा करोड लागतमा हाम्रो गाउँकै मुहार फेर्ने एकदम राम्रो आधुनिक कला र प्रविधियुक्त स्मारक जस्तो मन्दिर निर्माण हुँदै छ बाबु ।” “त्यति धेरै बजेट कसरी व्यवस्थापन गर्नुभएको छ त हजुरले ?” जिज्ञासावश ऋषिले सोध्यो । “शीत उबाएर घैला भर्ने अभियानमा छु बाबु म ।”
“राम्रै कुरा गर्न थाल्नुभएछ अङ्कलले । हजुर अँध्याराको जुनकिरी जस्तो,” उसले काकाको काम र लगन दुवैको प्रशंसा ग¥यो । उसको कुरा सुनेर काकाको अनुहार पनि उज्यालो भयो तर कुनै प्रतिक्रिया आएन । “लौ त बाबु, अब मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरो भएन । तिमीबाट हामीले राम्रै अपेक्षा गरेका छौँ । यी सुनिहाल्यौ मेरो कुरा । यस उमेरमा पनि म कहिले पहाड कहिले मधेश, कहिले सरकारी अड्डा, जता पर्छ त्यतै निःस्वार्थभावमा कुदेको कुदै छु ।”
“अङ्कल आफैँ आइसकेपछि मैले के नाइँनास्ती गर्ने कुरा छ र ? सकेको गरिहाल्छु तर पहिले खाना त खानु प¥यो नि । अब हामी लागौँ भान्सातिर ।” आदरपूर्वक ऋषिले काकाको सत्कार ग¥यो । “हेर बाबु, खासमा म रुढीवादी मान्छेचाहिँ होइन तर कुलपूजा र यो मन्दिर हाम्रो परम्परालाई धान्ने र आपसमा भ्रातृत्व विकास गर्ने साधन रहेछ । त्यत्तिले हो मैले आफ्ना भाइभारदारको कुरा सुनेको ।” यति भनेर काकाले एकछिन गम खाए र फेरि थपे, “मैले चौरासी पूजा पनि गरिन बाबु । मलाई लोकलाई देखाएर केही हुन्छ भन्ने कुरामा कुनै विश्वास छैन । जीवित छउन्ञ्जेल राम्ररी हेरचाह गरेर पाले पुग्यो । बाँचिन्जेल वृद्धाश्रममा लगेर छोड्ने अनि मरेपछि पिण्ड लगाएर के काम । जसलाई त्यसो गर्न मन लाग्छ गरे हुन्छ । मेरो कुनै विरोध छैन तर म जान्दछु, त्यो एक प्रकारको अबुझले गर्ने काम हो । तसर्थ म त्यसको पछि लाग्दिनँ । मनमा यस्तै लाग्यो र मैले त मेरो चौरासी पूजामा लाग्ने खर्चबाट हाम्रो गाउँको स्कुलमा एक लाख रुपियाँको अक्षयकोष राखिदिएको छु । त्यसको ब्याजबाट आउने रकमले असहाय विद्यार्थीलाई छात्रवृत्ति दिएको छ स्कुलले । म त्यसैमा सन्तुष्ट छु,” यति भनेर काका चुप लागे ।
“धेरै राम्रो काम गर्नु भएछ हजुरले । हजुरको विचार र अरू मानिसको बुझाबिचमा जे अन्तर छ, त्यसैको कारणले यस्तो भएको हो,” काकाको स्वरमा स्वर मिलाउँदै ऋषिले उत्तर दियो । उसको अनुहारतिर हेरेर आँखामा आँखा अड्याउँदै उज्यालो मुहार बनाउँदै उनी मुस्कुराए । त्यसपछि ती दुवै काका भतिजा सँगै घरबाट निस्किए र बैङ्कको बाटो लागे । यस्तै १५ मिनेट जति हिँडेपछि तिनीहरू बैङ्कमा पुगे ।
“मेरो खाताबाट यस खातामा आईपिएस गरी यति रकम ट्रान्सफर गरिदिनुप¥यो,” काकाले दिएको कोशको चेकबुक बैङ्क स्टाफलाई देखाउँदै ऋषिले आफ्नो हातको स्लिप पनि स्टाफलाई देखायो । “हस्, हुन्छ म तुरुन्तै गर्दिन्छु,” कारिन्दाले सहज भावमा भने । एकैछिनमा उसले बोलेको रकम समितिको खातामा जम्मा भएको कागज बैङ्कले उसलाई दियो । ऋषिको खातामा केही रकम घटेको थियो तथापि उसको पुरानो गाउँ र दाजुभाइको सम्मानमा शीत उबाएर घैला भर्ने अभियानमा उसले केही थोपा पानी खसालेको थियो । त्यस कार्यले उसको हृदय प्रसन्न भएर मुस्कुराएको थियो । काका पनि बिनाकुनै करकाप उसको हैसियत अनुसारको सहयोग सहजै मिलेको देखेर मकख परेका थिए । काम सकिएपछि उनीहरू दुवै जना अफिसबाट बिदा भएर निस्किए र सडक किनार पुगेपछि प्रसन्न मुद्रामा एकअर्कालाई हेरे । “बाबु ऋषि, तिमीलाई धेरै धन्यवाद छ । अब मलाई लिन मेरो नातिलाई फोन गरेर बोलाइदेऊ ।” उनले आग्रहको स्वरमा प्रेमपूर्वक उसलाई भने ।
सडक किनारमा रहेको एउटा पसलको पेटीमा उभिएर तिनीहरूले एकछिनको फुर्सदको समयमा केही अनौपचारिक कुराकानी गरे र सम्झनाको चिनोस्वरूप एक स्न्याप फोटो पनि लिए । त्यै बेला बिहान यता ल्याएर छाडिदिने युवक बाइक घुइँक्याउँदै आयो र उनीहरू नजिकै रोकियो । “लौ त अङ्कल राम्ररी जानुहोला । समय समयमा फोन संवाद पनि गर्दै गरौँला,” यति भनेर ऋषिले जम्लाहात जोडेर काकालाई नमस्कार ग¥यो । काकाले पनि अनुहारभरि उज्यालो छरेर दाहिने हात उठाएर उसको प्रत्युत्तर दिए । त्यसपछि हजुरबालाई बोकेर पश्चिमतिर फर्केको नातिको बाइक सुस्त गतिमा अघि बढ्दै गयो र एक छिनपछि उसका नजरबाट ओझल प¥यो ।