किराँत राई समुदाय अन्तर्गतका चाम्लिङ, बान्तवा, दुमी, खालिङ, थुलुङ, कुलुङ जस्ता राईहरूले साकेला, तोस, तोसी, वास, साकेल, साकेन्वा आदि नाममा उँधौली र उँभौली मनाउने गर्छन् । राई अन्तर्गतकै वाम्बुले समुदायले उँभौली पर्वको समापनका रूपमा ढ्वाङकुम (ढ्वाङकुमो) मनाउने गर्छन् । वाम्बुले समुदायले अन्नबाली फलोस्, पानी समयमा परोस्, दुःखबिमार नहोस् भनेर लिब्जु बाजे (पितृ) लाई पुज्छन् ।
लिब्जुलाई वाम्बुलेहरूले साझा पितृ पुर्खाका रूपमा मान्दछन् । यस समुदायले आफ्ना पुर्खालाई दुई वर्गमा विभाजन गरेका छन् । पहिलो आफ्नो वंश, गोत्र अनुसारको पितृपुर्खा । जसलाई अँगेनामा कुलपितृको पूजा फेली (सेसा), न्वाँगी, खाउमो गरेर पुजिन्छ । उँधौलीमा गरिने सो पूजामा आआफ्नो पाछा अनुसार पितृपुर्खाको नाम लिइन्छ ।
दोस्रो हो, लिब्जु । लिब्जुलाई वाम्बुले समुदायले बाजे भनेर सम्बोधन गर्छन् तर लिब्जु प्राकृतिक रूपमा नभई अप्राकृतिक अर्थात् जमुनाको रुखबाट जन्मिएको विश्वास गरिन्छ । लिब्जु बाजेको मृत्युसमेत कालगतिले नभएकाले उनी हाल लिब्जु डाँडा (मानेभन्ज्याङ गाउँपालिका–३ र ४ को सिमाना) भएको जङ्गलमै अलप भएको किंवदन्ती छ । त्यसैले लिब्जुलाई यस समुदायको साझा पुर्खा मान्ने गरिन्छ । ढ्वाङकुम हरेक वर्ष ऋषि तर्पणी अर्थात् जनैपूर्णिमाको दिन मनाउने गरिन्छ तर वैशाख पूर्णिमाको बेला लिब्जुमा गई ढ्वाङकुमका पुजारी (नाक्सो) हरूले भदौ पूर्णिमामा पूजा गर्छौं भनेर भाका माग्ने परम्परा छ । सोही भाका अनुसार भदौ पूर्णिमामा ढ्वाङकुमलाई वाम्बुले समुदायले बृहत् पूजाआजासहित महान् चाडका रूपमा मनाउने गर्छन् । वाम्बुले राईहरूको उद्गम थलो मानिने ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३, उँबुमा सुरुमा ढ्वाङकुम एक ठाउँमा मात्रै मनाइने गरिन्थ्यो । पछि यो विस्तार हुँदै गएर देशका विभिन्न भाग र विदेशमा समेत मनाइन्छ । ढ्वाङकुम थान वाम्बुले राई बसाइ सर्दै जहाँसम्म गए त्यहीँ स्थापना गरिएका छन् ।
ढ्वाङकुममा एक शताब्दीअघिसम्म माले गोरु काटेर पूजा गरिन्थ्यो । मुलुकी ऐनमा गाईगोरु काट्न प्रतिबन्ध गरिएपछि राँगा काटेर पूजा गर्न थालिएको हो । ढ्वाङकुम पुज्न खास गरी वाम्बुले समुदायका चार जना नाक्सो (पुजारी) हरू आवश्यक पर्दछ । उनीहरू हुन् सिसी, बुलु, ढ्वाङकुर्मो र काउर्मो नाक्सो । राँगा र कुखुरा बलि चढाउँदै नयाँ अन्नबाली चढाउनु र ढ्वाङकुमटार (पूजा स्थल) घुमेर नाचगान गर्नु यसको प्रमुख विशेषता हो । प्रत्येक घरले थुन्सेमा कागुनीको भात र राँगाको मासु बोकेर पु¥याउनु पर्छ । पूजा अवधिको दुई दिनसम्म गाउँमा कुनै किसिमको खनजोत तथा खेतीपातीको काम गर्न पाइँदैन ।
ढ्वाङकुममा नयाँ अन्नबाली चढाएर पूजा गरेपछि वर्षभरि रोग बिमार नलाग्ने र शान्ति समृद्धि हुने विश्वास गरिन्छ । ढ्वाङकुम पूजामा चार जना नाक्सोका साथै कारबारी, गौरुङ र थरीलगायतका पद प्राप्त व्यक्तिले दिएको निर्देशनबमोजिम व्यवस्थापन गर्नुपर्ने हुन्छ । लिखित कानुन नहुँदाका बखत वाम्बुले समुदायको यो सांस्कृतिक कानुन अर्थात् प्रथाजनित कानुनी अभ्यासको एउटा पाटो पनि हो ।
ढ्वाङकुम पूजा
पहिलो दिन– भदौ पूर्णिमाको अघिल्लो दिन ढ्वाङकुमटारको पूजा थानमा राँगालाई तिर (वाण) ले मारेर पूजा गर्नु पर्छ । त्यहाँ पाँच वटा कुखुरा काटिन्छ । सिकारी, बिजुवा, सिसी र लिब्जुलाई काँचो मासुले पुजिन्छ । कुखुरा थानभित्रै काटिन्छ र राँगाको काँचो मासु चढाइन्छ । यो पूजा खासगरी सिसी नाक्सोले गर्ने चलन छ । पछि एक धार्नी मासु पकाएर र कुखुरा पोलेर पूजा गरिन्छ र प्रसाद ग्रहण गरेर छुट्टिन्छन् । अन्य नाक्सो बुलु, ढ्वाङकुर्मो र काउर्मोको आफ्नो छुट्टै थान हुन्छ । त्यहाँ पनि राँगा काट्नु पर्छ । उक्त पूजा गर्न पुजारी बिहानै नुहाएर बस्नुपर्ने हुन्छ । त्यस दिनदेखि भोलिपल्ट पूजा नसकिएसम्म गाउँको बारीमा कुनै काम गर्न हुँदैन भन्ने विश्वास अझै कायमै छ । यो नियम उहिले कडा रूपमा लागु गरिन्थ्यो । पुराना बुढापाकाका अनुसार एक रुपियाँको पाँच पाथी मकै आउने समयमा पनि उक्त नियम उल्लङ्घन गर्नेलाई पाँच रुपियाँ र दुई चिन्डो रक्सी दण्ड लिने गरिन्थ्यो । दोस्रो दिन– उहिले बाह्र मानाको कागुनीको भात हुन्थ्यो । अहिले त्यो पाइन्न र पाँच मानाको भात पकाउने गरिन्छ । दुई वटा थुन्से चाहिन्छ । एक पाथीको जाँड पकाउनु पर्छ । अनि रक्सी एउटा घैलामा राख्नु पर्छ । नाताले बाँध्नु पर्छ । थप दुई चिन्डो भर्नु पर्छ । अनि बाँकी रहेको आशिष गरेर खाएर हिँड्नु पर्छ । घरबाट नाक्सो हिँडेपछि ड्वाङखिम्चो (काउर्माे नाक्सो) खोज्दै जाने गर्छन् । ढ्वाङकुमटार पुगेपछि सबै नाक्सोको भेट हुन्छ र भारी बिसाउँछन् । प्रत्येक गाउँलेले आफ्नो भारी त्यसरी नै लगेर बिसाउँछन् । कागुनीको भात र मासु चोखो पकाएर थुन्सेमा भात र मासु टपरीमा राखेर लगिन्छ तर यसरी लगेको मासुमा नुन लगाउनु हुन्न । गाउँलेले लाने सामग्री पनि थुन्सेमा भात, जाँड र मासु हुन्छ । खालुम अर्थात् मासु चाहिँ काँचो एक चोक्टा र एक चोक्टा छाला लानुपर्ने हुन्छ ।
कम्तीमा २८ घरको थुन्से जम्मा भएपछि पूजा सुरु हुन्छ । (किनभने यसको पूजाको सुरुवात २८ घरबाट भएको भन्ने किंवदन्ती छ ।) दुई जना गौरुङ पद प्राप्त व्यक्तिले भने थुन्से सिसी थानमा राख्नुपर्ने हुन्छ । उनीहरूले स्याल्मो (एक वनस्पति) पनि लगेका हुन्छन् । त्यो स्याल्मोलाई दुईतिर खाँबो बनाएर राख्नु पर्छ माथिबाट बलोँ लगाउनु पर्छ । अन्य समुदायले मकै, काँक्रालगायतका अन्न र फलफूल पनि ल्याउने गरेका हुन्छन् । त्यसलाई त्यहाँ झुन्ड्याउने गरिन्छ । त्यसै गरी दुई घरले कुखुरा ल्याएको हुनु पर्छ र त्यो स्याल्मोमाथि बाँध्नु पर्छ ।
ढ्वाङकुम सुरु
चैते दसैँको पाँच दिनमा पूर्णिमा हुन्छ । त्यतिखेर जाँड पकाउनका लागि कोदो केलाउने, सफा गर्ने भनेर गाउँमा हलो नजोत्ने र पैसा उठाएर एउटा सुँगुरको बच्चा, पाँच वटा कुखुरा ढ्वाङकुमटारमा पूजा गर्नुपर्ने हुन्छ । त्यो बेला गाउँमा कुनै शुभकार्य वा अन्य सार्वजनिक काम गर्नुहुन्न । त्यसपछि जेठ पूर्णे अर्थात् उँभौली पूर्णिमामा फेरि एक पटक पूजा गर्नुपर्ने हुन्छ । अनि अन्तिम पटक ढ्वाङकुम पूर्णेको बेला यसरी पूजा गरिन्छ । किंवदन्ती के छ भने यसरी पूजा गर्दा खडेरी परेको छ भने गाउँमा पानी पर्छ । कतिपय अवस्थामा नाक्सोहरूले कुखुरा, मर्चा, सेतो धागोलगायत चढाएर लिब्जुमा पूजा गर्न गएपछि पानी पर्ने गर्छ ।
कारबारी– कुखुरा छोड्न लिब्जु जानुपर्ने, पानी माग्न जानुपर्नेलगायतका काममा पैसा उठाउने, चामल उठाउने, गाउँ घुम्ने, नाक्सो ङाबुचो खोज्ने प्रचारप्रसारको जिम्मा कारबारीको हुन्छ ।
गौरुङ– स्याल्मो लाने । स्याल्मोमा कुखुरा बान्ने । तोलुम लाने । पूजामा सहभागी कोही हाडनातामा बिहे गरेको, अन्तरजातीय बिहे गरेको हो होइन थाहा पाउने । यदि हो भने उसलाई दण्ड, जरिबाना गर्ने वा बहिष्कृत गर्ने गराउने जिम्मा गौरुङको हुने गर्छ । थरि– अहिले थरि लोप हुँद गइसकेको छ । यसले उहिले मालपोत, तिरो उठाउने आउँदा थरिको घरमा निस्कने गर्दथे । त्यसपछि थरिले जिम्मावालको घर लानु पथ्र्यो । जिम्मावालले फेरि गौरुङ खोज्थ्यो । अनि जिम्मावालले तिरो तिर्न बोलाउनु भनेपछि त्यो काम गौरुङले गर्ने गर्थे ।