• १६ भदौ २०८२, सोमबार

पशुपन्छीको नस्ल सुधार

दशक लामो प्रयास, उपलब्धि कमजोर

blog

काठमाडौँ, भदौ १५ गते । पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि भने न्यून रहेको छ । 

पशुपन्छीको नस्ल सुधारका लागि नेपालले २०६९ सालदेखि अभियानकै रूपमा गाईभैँसीमा कृत्रिम गर्भाधान अभियान थालेको थियो । अभियानले १२ वर्ष पूरा गर्दा उपलब्धि भने कमजोर छ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. जगदीश पाण्डेयका अनुसार विसं १९९७ मा जङ्गबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाई नेपालमा ल्याई पशुमा नस्ल सुधारको सुरुवात भएको थियो । नस्ल सुधारको कार्यलाई व्यवस्थित र विस्तारित गर्ने लक्ष्यसहित २०६९ सालदेखि गाईभैँसीमा कृत्रिम गर्भाधान अभियान नै चलाइएको थियो । नेपाल सरकारले प्रजनन सेवा विकासको लागि पोखरा, नेपालगन्ज र लहानमा राष्ट्रिय पशु प्रजनन कार्यालय स्थापना गरी नस्ल सुधारको कार्यलाई निरन्तरता दिएका छन् । 

नेपालका कुल घरपालुवा पशुपन्छीमध्ये नस्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको सङ्ख्या करिब १५ प्रतिशत र भैँसीको सङ्ख्या करिब ३६ प्रतिशत मात्र छ । यसले ठुलो सङ्ख्यामा पशुपन्छीको नस्ल सुधार हुन नसकेको देखाउँछ । नस्ल सुधार गर्ने सम्भावना अझै धेरै बाँकी नै छ,” पाण्डेयले भन्नुभयो । 

गाईभैँसी, बाख्रामा नस्ल सुधारका लागि सञ्चालित कृत्रिम गर्भाधान कार्यक्रममा आवश्यक पर्ने जमेको वीर्य (फ्रोजन सिमेन) र बङ्गुरमा तातो वीर्य (वार्म सिमेन) देशभित्रै उत्पादन गर्ने गरिएको छ । उच्च प्रजनन मान भएका जर्सी तथा होलिस्टिन गाईका भ्रुण नेपाली गाईमा प्रत्यारोपण गरी जन्मिएका साँढेहरू वीर्य उत्पादनमा प्रयोग गरिन्छ । त्यस्तै विभिन्न समयमा भारत, अमेरिका तथा कोरियाबाट प्राप्त राँगा तथा साँढे पनि वीर्य उत्पादनका लागि प्रयोग भएका छन् । पहिचान गरिएका स्वदेशी नस्लका पशुपन्छीलाई स्वस्थानीय (इन सिटु) रूपमै संरक्षण र संवर्धन गर्ने कार्यक्रम सीमित रूपमा सञ्चालनमा छन् । राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ बाट निर्देशित गरेका जातको भाले पशुबाट मानक सञ्चालन प्रक्रिया (एसओपी) मा निर्दिष्ट गरेको विधि अपनाइएको उहाँले उल्लेख गर्नुभयो । 

मुर्रा जातको राँगा, जर्सी र होलिस्टिन जातका साँढे बोयर बोकाको जमेको वीर्य उत्पादन राष्ट्रिय पशु प्रजनन कार्यालयबाट भइरहेको छ । अनुसन्धान परीक्षणका लागि गीर र साहिवाल जातका साँढेहरूबाट समेत वीर्य सङ्कलन गरी तराईका जिल्लामा पशु प्रजनन कार्यालय, लहानबाट वितरण भएको पाण्डेयले जानकारी दिनुभयो । 

नेपालमा वार्षिक ११ लाख ५० हजार पशुलाई पुग्ने गरी जमेको वीर्य उत्पादन भइरहेको छ । कृत्रिम गर्भाधान सेवा सुचारु रहेका ७२ जिल्लाका ५०४ स्थानीय तहमार्फत वार्षिक सात लाख ५० हजारको सङ्ख्यामा कृत्रिम गर्भाधारण हुने गरेको पाण्डेयले उल्लेख गर्नुभयो । 

गाई र भैँसीमा कृत्रिम गर्भाधानमा सफलता दर क्रमशः ५६ र ४८ प्रतिशत मात्रै रहनु पनि चिन्ताको विषय छ । पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाही भन्नुहुन्छ, “यो दर बढाउनै पर्ने छ, चित्त बुझाउने अवस्था यो होइन ।”

यसको सफलता दर बढाउन प्रयोगशाला सुदृढीकरण कार्यक्रम जरुरी रहेको उहाँको भनाइ छ । “अब फिल्डस्तरमै जमेको वीर्यको गुणस्तर परीक्षण सेवा, प्राविधिक जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनु पर्छ ।” 

सबैभन्दा धेरै वीर्य (सिमेन) उत्पादन र वितरण भने पोखराबाट हुँदै आएको छ । कुल उत्पादनको ८० प्रतिशत भूमिका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा रहेको छ । नेपालभर वितरण भएको सेमनमध्ये आव २०८०/८१ मा सात लाख ७५ हजार भैँसी र गाईमा कृत्रिम गर्भाधारण (एआई) गरिएको छ । केन्द्रका सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार केन्द्रले सात प्रदेशका ७२ जिल्लामा सिमेन उपलब्ध गराएको छ । 

नेपालमा मुर्रा जातको राँगाबाट सिमेन सङ्कलन हुने गरेको छ । राँगालाई विशेष, रेखदेख, औषधी उपचार र निरन्तर उच्चस्तरको खुराक खुवाइन्छ । घाँस, पराल र दाना दिइनुका साथै वीर्य सङ्कलनका बेला क्याल्सियम, फस्फोरस सुई पनि दिइने उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा एउटा राँगाबाट हप्तामा तीन पटकसम्म वीर्य सङ्कलन गर्ने गरिन्छ । 

“त्यसपछि प्रशोधन गरिन्छ र वीर्यलाई तरल नाइट्रोजनसँग फ्रोजन अवस्थामा राखिन्छ,” उहाँले भन्नुभयो । प्रशोधन गरिएको वीर्य लामो समयसम्म ठुला ठुला ‘मदर कन्टेनर’ मा राखिन्छ । सानो सानो फ्रिजमा पनि राखेर कृत्रिम गर्भाधानका लागि विभिन्न ठाउँमा पु¥याइन्छ ।

एउटा राँगा तीन वर्षको उमेरमा वयस्क हुन्छ । “आठ वर्षको उमेरसम्म स्वस्थ खालको वीर्य उत्पादन हुन्छ,” उहाँले थप्नुभयो, “एक वर्षमा स्वस्थ्य राँगाले १० हजार डोज सिमेन उत्पादन गर्न सक्छ ।” 

पोखरामा रहेका ११ वटा मुर्रा जातको राँगाबाट सिमेन उत्पादन हुने गरेको छ । साँढेको पनि ३२ महिनादेखि नौ वर्षसम्म सिमेन उत्पादन गरिन्छ । नस्ल सुधारपछि थालेपछि दुध, मासु र अन्डामा देश आत्मनिर्भरको हुने विश्वासले राष्ट्रिय पशुपन्छी प्रजनन नीति सरकारले ल्याएको उल्लेख गर्नुभयो । 

स्थानीय हावापानीमा राम्ररी हुर्किन सक्ने भए पनि रैथाने जातका गाईभैँसीले धेरै दूध दिँदैनन् । नेपालमा हुने स्थानीय जातको भैँसीले एक बेतमा सरदर आठ सय लिटर दुध दिन्छ भने भारतमा मुर्रा भैँसीको औसत दुध उत्पादन प्रतिबेत दुई हजार लिटरभन्दा बढी देखिएकाले मुलुकभर नस्ल सुधारको कार्य अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।  

नेपालमा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतले उपहारस्वरूप दिएको मुर्रा जातको राँगामध्ये एउटा मरेको छ । भ्यागुते रोगका कारण पास्चुरेला मल्टोसिडा जीवाणुका कारण राँगा मरेको हो । सो मुर्राबाट तीन हजार डोज वीर्य स्टक भएको थियो । भारतले दिएको १५ मध्ये सात वटा मुर्रा पोखरा, पाँच वटा लहान र तीन वटा बाँके पठाइएको थियो । 

 

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।