• २० चैत २०८२, शुक्रबार

सरकारलाई प्रेसले सचेत गराउनुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

मेलाको उद्घाटनसत्रमा सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २० गते । गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेसले बलिायो प्रतिपक्षी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको दुई दिने मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । 

‘‘अहिले सदनमा सत्ता पक्ष बलियो र प्रतिपक्षी कमजोर रहेकाले देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनचासोका मुद्दामा प्रेस जगतले सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्छ’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘सरकार गलत बाटोमा हिंड्न खोजे प्रेसले सचेत बनाउनुपर्छ ।’’ प्रेस जगत कमजोर भए सत्ता निरंकुश हुने पाण्डेको भनाइ छ । 

पाण्डेले प्रेस जगत स्थायी प्रतिपक्ष भएकाले सरकारको गतिविधिबारे निरन्तर निगरानी र खबरदारी गर्दै विधिको शासन र सुशासनको मुद्दालाई प्राथमिकताका राख्न आग्रह गर्नुभयो । निष्पक्षता र यथार्थताको धरातलमा रहेर प्रेस जगत आवाजबिहीनहरुको आवाज बन्दै देशमा भएका उपलब्धीहरुलाई उजागर गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । गण्डकी प्रदेश सरकार सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको पाण्डेको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रामजीप्रसाद दाहालले सरकारी विज्ञापन सरकारी मिडियामा प्रकाशन र प्रशारण गर्ने सरकारको परिपत्रले ९० प्रतिशत सामुदायिक सञ्चारमाध्यम प्रभावित हुने बताउनुभयो । ‘‘देशलाई खुल्ला अर्थतन्त्रबाट बन्द अर्थतन्त्रतर्फ धकेल्ने सरकारको निर्णय सच्चिनुपर्छ’’ महासचिव दाहालले भन्नुभयो । 

रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको मिडिया मेलामा गिद्वे प्रेसदेखि एआइसम्म, कृषि, उद्यम र पर्यटन प्रवर्धन, स्थानीय सरकार गठनपछिको अवस्था, स्थानीय मिडियाको सवलीकरण र राष्ट्रिय विषयमा चरणबद्व छलफल हुने महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ ले जानकारी दिनुभयो । 

मेलामा विद्वत प्रवचन, बागलुङे पत्रकारको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, बागलुङको ऐतिहासिक तस्बिरहरुको प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरण प्रदर्शन र मौलिक गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम हुनेछन् ।