काठमाडौँ, चैत २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्थानीय तहका छाता सङ्गठन (गाउँपालिका राष्ट्रिय महासङ्घ तथा नेपाल नगरपालिका सङ्घ) बिच समसामयिक विषयमा छलफल भएको छ ।
मन्त्रालयमा शुक्रबार भएको छलफलमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता र अनुदान कटौती लगायतका विषयमा गहन विमर्श भएको हो । सो क्रममा स्थानीय तहका प्रतिनिधिहरूले आफूहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे मन्त्री रावललाई जानकारी गराउनुभएको थियो ।
छलफलका क्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले स्थानीय तहमा देखिएका चुनौतीबारे विस्तृत जानकारी गराउँदै समाधानका लागि सङ्घीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्वासीलाई लालपुर्जा वितरण र भूमि व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी, महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिनुभएको थियो ।
मन्त्री रावलले स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय सदैव तयार रहेको बताउनुभयो । उहाँले नागरिक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताका अपेक्षालाई स्थानीय सरकारमार्फत प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्थानीय तहका पदाधिकारीहरूले कर्मचारी व्यवस्थापनमा मन्त्रालयले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।