जयकृष्ण यादव
इनरुवा, चैत २० गते । सुनसरीको इनरुवा नगरपालिका-३ मा सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले वरिष्ठ समालोचक तथा साहित्यकार स्व. उपेन्द्र बस्नेत ‘पागल’को स्मृति सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
स्मृति सभा तथा रचना वाचन कार्यक्रममा साहित्यकारले पागलको योगदानको चर्चाका साथै आ आफ्नो समसामयिक रचना वाचन गर्नुभएको छ ।
कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष तथा सप्तरङ्गी साहित्य समाजका सचिव लिलानाथ सिलवालले बस्नेतको साहित्य क्षेत्रमा ठुलो योगदान भएको बताउनुभयो ।
उहाँले नेपाली साहित्य र सुनसरीको कला क्षेत्रमा निकै योगदान ताजै रहेको बताउनुभयो । साहित्य कार्यक्रममा साहित्यकार डम्मरुबल्लभ भण्डारी, भरत गुरागाई बर्बरिक, उपेन्द्र पागलकी छोरी गीता बस्नेत, गीतकार राधा सुवेदी, यशोदा आचार्य अधिकारी, निर्मला भट्टराई कोइराला, शिवनारायण पण्डित, झोटन मेहता, विष्णु दाहाल, गायक प्रकाश अनुराग, माधव आचार्यसहितले पागलको योगदानको चर्चा गर्नुका साथै आ-आफ्नो समसामयिक रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशका सचिव लिलानाथ सिलवालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीले उपेन्द्रको व्यक्तित्व तथा कृतित्वको साथै आफ्नो अनुभवको चर्चा गरेका थिए ।
सहभागीले उपेन्द्र पागलको नाममा पुरस्कार, अक्षयकोष तथा प्रतिष्ठान खोल्नुपर्ने धारणा राखेका थिए । उपेन्द्रकी छोरी गीता बस्नेतले यस बारेमा परिवारमा सल्लाह भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रम सप्तरङ्गी साहित्य समाजका अध्यक्ष रमेन्द्र कोइरालाको अध्यक्षता तथा प्राज्ञः जीवनाथ पोखरेल पन्छीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।