• २४ साउन २०८२, शनिबार

सरुवा निवेदन दिन आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २४ गते ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्षमा सरुवा गर्नुपर्ने कर्मचारीको नामावली तयार गर्नका लागि मन्त्रालयले साउन मसान्तभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको हो । निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई शुक्रबार निर्देशन जारी गरिएको हो । 

सरुवाका लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेस गर्नुपर्ने छ । निजामती सेवा ऐन २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र प्रभावकारी बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरिएको बताउनुभयो । सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।