काठमाडौँ, साउन २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार र पहुँचविहीन दुर्गममा नै बस्न बाध्य हुनु परेको भन्ने गुनासाका चाङ लाग्न थालेका छन् । कतिपय कर्मचारीको सात वर्षदेखि दुर्गम स्थानीय तहमा नै बस्दा पनि सरुवा नभएको तर पहुँचमा भएका कर्मचारी भने सधैँ सिंहदबार आसपासका कार्यालयमा घुमिरहेका लगायत गुनासा मन्त्रालयमा आएका छन् ।
मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना भएसँगै कर्मचारीको सरुवासम्बन्धी गुनासाका चाङ लाग्न थालेका हुन् । मन्त्रालयमा विगत केही वर्षदेखि कर्मचारी सरुवाको बेथिति झाँगिँदै गएपछि सरुवा बेथिति रोक्नुपर्ने गुनासो व्यवस्थापन केन्द्रमा आउन थालेका छन् । मन्त्रालयले गत साउन ८ गते सेवा प्रवाहमा देखिएका समस्याको समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको थियो ।
मन्त्रालयका सूचना अधिकारी तथा सुशासन प्रवर्धन शाखाका उपसचिव भूपेन्द्र सापकोटाले गुनासो व्यवस्थापन केन्द्रमा आउने अधिकांश गुनासा कर्मचारी सरुवासँग सम्बन्धित भएको बताउनुभयो । उहाँका अनुसार पाँचदेखि छ वर्षसम्म एउटै कार्यालयमा कार्यरत रहेको तर सरुवाका लागि पटक पटक मन्त्रालयमा निवेदन दिए पनि सरुवा हुन नसकेको, सुक्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यहाँको नियमित कार्यसम्पादन र सेवा प्रवाह नै ठप्प भएको, स्थानीय तहमा निमित्त प्रमुख, प्रशासकीय अधिकृत रहेको र निमित्तबाट दीर्घकालीन महत्व राख्ने काम हुन नसकेका गुनासा आएका छन् ।
यसै गरी स्थानीय तहमा वरिष्ठतम कर्मचारी बहाल भए पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको, एउटै विज्ञापनबाट स्थायी नियुक्ति लिइएका समायोजनका क्रममा स्थानीय तहमा समायोजन भएका कर्मचारी अहिले आठौँ तहमा पुगेका तर सङ्घमा कार्यरत कर्मचारी छैठौँ नै भइरहेकाले छैठौँ तहका कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउँदा ती कर्मचारीको ‘मोरल डाउन’ हुने गरेको लगायत गुनासो धेरै आउने गरेको छ । उपसचिव सापकोटाले भन्नुभयो, “तत्काल सम्बोधन गर्न सकिने गुनासालाई टेलिफोनबाटै सम्बोधन गरिएको र फोनबाट सम्भव नभएका गुनासालाई सम्बन्धित महाशाखा र सहसचिवहरूको समूह रहेको उच्च व्यवस्थापन केन्द्रमा पठाउने गरिएको छ ।”
सुगम रोज्नेको लहर
अहिले मन्त्रालयमा निजामती कर्मचारीहरूको सुगम कार्यालयमै सरुवा हुन पाऊँ भन्ने लहर छ । सिंहदरबार, काठमाडौँ उपत्यका र आसपासका कार्यालयमा सरुवा हुन र ती क्षेत्रका कार्यालयमा बसिरहेका कर्मचारी सोही कार्यालयमा थमौती गर्न सिंहदरबारमा भीड लाग्ने गरेको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख पिताम्बर अधिकारीले कर्मचारीमा स्वाभाविक रूपमा सुगम क्षेत्रमा नै बस्न रुचाउने प्रवृत्ति भएकाले सुगमका कार्यालयमा नै सरुवा गरी पाऊँ भन्ने कर्मचारीको सङ्ख्या अत्यधिक रहेको बताउनुभयो । मन्त्रालयले भने सुगम क्षेत्रका कर्मचारीलाई दुर्गममा र दुर्गममा बसेका कर्मचारी सुगममा सरुवा गर्ने नीति लिएको छ । सोही नीति अनुसार साउन महिनामा मात्र मन्त्रालयले विभिन्न कार्यालयमा गरी १४५ जना कर्मचारीको सरुवा गरिसकेको जनाएको छ ।
अधिकारीले भन्नुभयो, “कर्मचारीले सुगमका क्षेत्रमा मात्र बस्न चाहे पनि मन्त्रालयले भने सुगमका कर्मचारी दुर्गम र दुर्गमका कर्मचारीलाई सुगममा सरुवा गर्ने गरी नीति लिएको छ, सोही अनुसार अब भदौसम्ममा कर्मचारीको सरुवा हुन्छ ।” नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले निजामती कर्मचारीले सेवा प्रवेश गर्ने बेलामा नै खटाएको ठाउँमा जान्छु भनेर शपथ खाएकाले सरकारले खटाएको कार्यालयमा जानु दायित्व भएको बताउनुभयो ।
सरुवा निवेदन दिन आग्रह
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्षमा सरुवा गर्नुपर्ने कर्मचारीको नामावली तयार गर्नका लागि मन्त्रालयले साउन मसान्तभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको हो । निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई शुक्रबार निर्देशन जारी गरिएको हो ।
सरुवाका लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेस गर्नुपर्ने छ । निजामती सेवा ऐन २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र प्रभावकारी बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरिएको बताउनुभयो । सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।