• २४ साउन २०८२, शनिबार

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप उद्घाटन (फोटो फिचर)

blog

राई समुदायको संस्कृतिमा आधारित चण्डी नाच प्रस्तुत गर्दै कलाकार। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २४ गते। लाखेजात्राको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भव्यरुपमा उद्घाटन गरिएको छ। विगतका वर्षभन्दा फरक तरिकाबाट प्रतियोगिताको उद्घाटन गरिएको हो। अरुबेला भन्दा फरक कुनैपनि औपचारिक कार्यक्रममा झै प्रमुख अतिथि, विशिष्ट अतिथिको क्रम र सम्बोधन नगरी सबै मर्यादामा रहेका व्यक्तित्वलाई अतिथिका रुपमा आसनग्रहण गराइएको थियो।

सोहीअनुसार शुभाकामना मन्तव्य र अतिथिहरुको मन्तव्यको कार्यक्रम नराखी सिधै प्रतियोगिता सुरु गरिएको थियो। यता उद्घाटनमा सिंगी नृत्यसहित लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाच (केःलाङ), नेवारको लाखे नाच, राईको चण्डी नाच, तामाङको सेलो लगायतका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए। भानुजन माध्यमिक विद्यालयका विद्यार्थीले ताप्लेजुङ गोल्डकप झल्कने कलात्मक प्रस्तुति र मेचीसेन्ट मेरिच बोर्डिङ स्कूलका विद्यार्थीले मार्चपास प्रस्तुत गरेको थिए।

यता शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २-१ को गोलअन्तरले पराजित गर्दै द योङ ब्रदर्स क्लब इटहरीले विजयी सुरुवात गरेको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको दोस्रो दिन आइतबार साहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच खेल हुने छ। 

यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ। उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गर्ने छ। सबोत्कृष्ट एकजना खेलाडीले यसवर्ष १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकलसमेत प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। 

हरेक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिता आयोजना गर्ने गरिएको छ। यसवर्ष शनिबार सुरु भएको प्रतियोगिता साउन ३१ गते शनिबार सम्पन्न हुने छ। प्रतियोगितामा भारत, सिलगुढीको लेजण्ड फुटबल एकेडेमीसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका चर्चित क्लबसमेत आठ टोली सहभागी भएका छन्। यता पूर्वमै खेल हेर्ने अध्यधिक दर्शकको सहभागिता रहने गरेको ताप्लेजुङ गोल्डकपमा यसवर्ष पनि उत्तिकै अर्थात हजारौं दर्शक सहभागी भएका छन्।