एउटै चित्र– हस्तकारिगरी–चित्रपट–फोटोग्राफिक विम्बहरू । निःस्वर बोलिरहन्छ अनवरत, अथक–दिगन्त । आँखाले हेर्दै मौन भाषामा सुन्छु । सुन्दासुन्दै मौन भाषामा आँखा थाक्छन् । गुनगुनाउँछन् कान दुवै । दुरुह ठान्नन् मौन अभिव्यक्ति निरीह । छन् सार्थक । सार्थक अभिप्रेरक बन्छन् । मौन भाकाका अभिव्यञ्जनाहरू । यति सार्थक कि बुझ्नेलाई मनग्गे । नबुझ्नेलाई फत्रक फत्रक !
जन्मदाता पिता ! मातृकोष गर्भगृह ! मातापिता जन्मदाता, मातापिता सयुंक्त साधनाका प्राणी तेजेश्वर ! शाश्वत सत्य । विश्वजनित प्राकृत सत्य ! प्राकृत सत्य निर्विवाद–निष्कलङ्कित । शाश्वत सत्य मात्र एकका होइन । सिरिखुरी सर्वत्र विश्वव्यापी । सीमा छैन यसको । खेमा व्योम यसको । अनन्त गर्भगृह यसको । चहारुँ चहारुँ लाग्छ । हुन्छ चरितार्थ अन्तरिक्षयान अभियानसित । होइन त्यो नि पूर्ण तवरले । मात्र आंशिक रूपमा ।
मामा विज्ञानबहादुर मल्ल, बुवा निरञ्जनलाल ग्वंगः यस ऐहिक लोकजीवन लीलामय चेतनमा छैनन् । दिवङ्गत भइसकेका छन् । कलमजीवी चेत यो तेजेश्वरभित्र मामा बुवा दुवैका प्रतिमामय चेत जागेको छ । चिन्तनशील कल्पना भावुक जिज्ञासाका अविरल नैरन्तर्य मामाका वरदान । चलायमान अथक गतिशीलता बुवाको वरदान ।
बुवा यामिनी भाषाका विद्यार्थी थिएनन् । अलि संस्कृत देव वाचा (भाषा) पठन । यताध्य रामायणम् । फलतः बिएसम्मै संस्कृत अध्ययन गर्ने अनुरागी बनेँ । मामा विज्ञानबहादुर मल्ल र स्व. जगतसुन्दर मल्लबाट अभिप्रेरित भएर यामिनी भाषाका बनेँ अनुरागी । जगतसुन्दर मल्ल हजुरबाले केटाहरूलाई पढाए । सार्थक जीवनसार यथार्थ । श्री ३ चन्द्रशमशेर जबराको शासनकालमै जगतसुन्दर, पद्मसुन्दर र मामा विज्ञानबहादुर मल्ल भारतको हुग्ली भई साङ्घाई पुगेको इतिवृत्ति सुनी जानेँ । स्मृतिपटमा सदावहार रहेको वृत्तान्त यो ।
सम्झनाशक्ति सदावहार बनाउनु चिन्तामुक्त जीवन वरदान बन्दो रहेछ । चिन्तामुक्त जीवन रिस–राग–द्वेषबिनाको आचरणयोग अनिवार्य हुँदो रैछ । आत्मानुभूति– आत्म अनुभूति हुन् यी आफ्नै । लेखन एक प्रक्रिया बन्छ अनुभूति आदानप्रदानका ।
मनषा– वाचा कर्मना यी तीन स्वच्छन्द माध्यम ठानेँ । मामा विज्ञानबहादुरबाट प्रेरित भएर आर्जेको यो प्रेरक अन्तरभित्री यो चेत । बडपन होइन, नम्रभाव सार्थक ।
मामा प्रेरणाका स्रोत मेरा । प्रेरणा उत्साहवर्धक आयुर्वेदिक रसादि । लाग्छ रसादि सेवन जीवन तìववर्धक उपचार सार्थक । अविचलित अनुसरण हुन्छ नितान्तनीय नै । अभीष्ट बन्छ, रहन्छ दीर्घान्तताका लागि । मार्गचित्र यो श्वासप्रश्वासभरिको । अभिलिखित छ स्मृतिपटमा जस्ताको तस्तै । जति जति अस्ताचलमुखी बन्छ मांसपेशीको देह, उति उति नै बढी बनिँदो रहेछ– दसी प्रमाण बन्छ यसको सतर्कता । सिकिरहेछु आफैँ भित्रभित्रै मनले । बन्दो रहेछ स्वानुभूतिको पराग सुवास मगमगाउँदो... । स्वामी ब्रह्मानन्दले बताउनुभएको झलझली मनमस्तिष्कभरि ताजा अझै । जे तनमनले चिताउँछ, अदृश्य ईश्वरले पु¥याउँछ । सद्ज्ञान सद्बुद्धि सद्चिन्तन हुँदा रैछन् सार्थक जीवन सारथि... ।
आमा कि मामा । माझिएको उखान हाम्रो । हामी आमनेपाल आमाका सन्ततिका । साझा नेपाल र नेपाली मात्रका । प्रत्येक म जस्तै महरूका साझा सामूहिक हकदारी सिरिखुरी सम्पदा ढुकुटी । नेपाल भाषाका ढुकुटी शब्दका दन्त्य ध्वनि, स्वर उच्चारण नेपालीमा प्रत्याभूत भई मूर्धन्य बन्न पुगेका । भाषिक ध्वन्यात्मक विश्लेषण संश्लेषण । जे भनौँ प्रसङ्ग यो । आमा र मामा एकै गर्भगृहबाट प्रजनित दाजुबहिनी । चिन्तन मनन ढङ्गका एकै छलाङ प्रवाहमान जीवन । मभित्रका नसानदीका प्रभाव आमा र मामाजन्य बन्नु प्राकृतिक वरदान... । नकार्न सकूँ कसरी म ?
जे जति छु, हुँ यो चेतसार्थक संयोजन मातापिताका । सारगर्भित पठनपाठन, चिन्तन लेखन, अध्ययन, वाक् साधना अनेक मामा र आमाका सार्थक सौन्दर्यमूलक देन । उदार मनस्क भाव अकुण्ठित प्रक्षेपण बन्छ सरासर । कुण्ठाभाव जीवन अवरोध बन्छ स्वतः निर्विवाद । लोकतन्त्रले प्रदत्त संवैधानिक सुशोभन यो र यी । गजब मजहब प्रसादतुल्य उपहार मिठो स्वादिलो दुधबरी चम्चम्... ।
मामा विज्ञानबहादुर मल्ल समाज सेवा कार्यका कर्मयोगी । भक्तपुर नगरपालिका तत्कालीन १५ वडाका सदस्य । मामाका पाइला पछ्याउँदै टुसाएर पलाएँ, हुर्कें । अहो सौभाग्य ठानेँ, मानेँ । मामाकै प्रेरणाका तेज जीवन मेरो । कति कति अनेक सन्दर्भ सामग्रीका भकारी भनूँ भनूँ लाग्छ मलाई । बहिनी, ज्वाइँ भान्जाभान्जीलाई चाडपर्वको भोज खुवाउनु कुलायन संस्कार । विजया दशमी पर्वको अवसर मेला । बुवाले मामालाई सम्बोधन गर्नुभो, “विज्ञान दाइ, तपाईंका भान्जा अलि नचाहिँदो गर्दै हिँड्छन् ।”
“के गर्छ राजाले ?” मामाले प्रतिप्रश्न गर्नुभयो । लेख लेख्छन्, कविता कोर्छन्, कवि सम्मेलन गर्छन्, भाषण गर्छन् । विज्ञान मामाले सम्झाउनुभयो शिष्टमिष्ट पारामा, “ज्वाइँ उसले जुवातास, त्रिपासा, कौडा खेलेको छैन जाँडरक्सी सेवन गर्दैन, रन्डीबाजी गर्दैन, उसले जे ग¥यो, ठिकै गरेको छ । कालान्तरमा उसलाई फलिफापै हुन्छ, तपाईंले भान्जाबाबुलाई तगारो हाल्नु बेठिक हुन्छ । बिग्रिन्छ भविष्य उसको ।” मामाको यो स्याबासिलो हौसला वचनामृत ढाडस तेजपुञ्ज बन्यो मेरो ।
बालापनमै निसासिएर अवसान हुने थिएँ । बाँचेँ मामाकै पुत्रवत् अनुकम्पित स्नेहालु माया ममतामय स्याहारसम्भारले बिहान ८–८:३० को समय १९९७ विसंतिर । मामाले ए राजा खाना खान जाऊ भन्नुभयो । मामा मलाई घाँटी दुखिरहेछ, थुकै निल्न सक्दिनँ भनेँ मैले । तत्काल एक चम्चा एक टर्चलाइटको सहाराले घाँटी जाँच्नुभयो । शनिबार धोइवरी सुकाएको लुगामा घोप्टिरहेथेँ । तत्काल भक्तपुर त्रिचन्द्र अस्पतालमा पुगेर डाक्टर लिएर आउनुभो । बङ्गाली डाक्टर हिन्दी बोल्थे । सेतो कमिज पाइन्ट लगाएर आएको अहिले झैँ लाग्छ ।
मामाले ‘डिफ्थेरिया’ भएको भन्नुहुँदै थियो, डाक्टर अनकनाइरहेथे । मामाले तुरुन्तै डिफ्थेरिया सिरिन्ज लगाउन उपयुक्त हुने आग्रह गर्नुभयो । डाक्टरको प्रेस्व्रिmप्सन लिएर एक एम्पल लिएर आउनुभयो । मामा सनसाइन चढ्नुहुन्थ्यो, तुरुन्तै ल्याउनुभयो । डाक्टरले सुई लगाए । भोलिपल्ट काठमाडौँ कोअपरेटिभ मेडिकलबाट ल्याउनुभयो । तेस्रो डोजका लागि काठमाडौँ सरकारी वीर अस्पताल डिस्पेन्सरीमा पनि नपाएर हैरान । अन्त्यमा लाठसाहेब मोहनशमशेर जबराको महारागन्ज दरबारमा बिन्ती चढाउन बुवा पुग्नु भएथ्यो । बुवा रुँदै चिच्याउनु भएथ्यो, “सरकार ! छोरा मर्न लाग्यो । एउटा डेफ्थेरिया एम्पल निगाहा होस् प्रभु ।”
“यो भादगाउँले के भन्छ,” लाठसाहेबले सोधिबक्स्यो रे । बुवाले भन्नुभएको गुनगुनाइरहेछ अद्यापि यी श्रवणेन्द्रीयमा । सामूहिक तारतम्यले बचाएर बाँचिबचेको यो कलमजीवी चेत ‘सुखी नेपाली समृद्ध नेपाल’ प्रति समर्पित रहेकै मनसायले नेपाली मातृभूमिप्रति समर्पित भाव सिञ्चन गर्छु ।
अन्तमा जीवनदान दिनुहुने बुवामुमा, पुनर्जीवन दान हुने मामामाइजू भाइबहिनी सबैप्रति स्नेहालु मनोभाव अर्पन्छु । जीवन यथार्थमा स्नेहकै वरदान रहेछ । स्वजनका सद्भावप्रति म नि स्नेहालु भावमा विभोर बनेकै छु ।
जीवन्त समर्पण भाव अर्पणमा रतिभर कञ्जुस्याइँ आत्मघाती बन्छ डिफ्थेरिया रोगलाई नेपालमा भ्यागुतेरोग भन्छन् । यो रोग बालक अवस्थामुखी रहेछ । मलाई एकदमै एकान्तमा राखी उपचार गरेको झलझली सम्झन्छु । भाइबहिनीलाई मलाई राखिएको दक्षिणमोहडे कोठामा पस्न निषेध गरिएको थियो । बाल सरुवारोग रहेछ भ्यागुतेरोग डिफ्थेरिया । मेरा दौँतरी भाइबहिनीमध्ये म र बहिनी आनन्दलक्ष्मी मल्ल, विज्ञान मामाका जेठी छोरी मात्र संसाररूपी सुखसागरमा छौँ । बहिनी मभन्दा १० महिना कान्छी ।
मामा विज्ञानबहादुर मल्ल हँसीठट्टा मन पराउने चेष्टाधारी । पल पलमा हँसाइराख्नु हुन्थ्यो । हँसीठट्टा गर्ने स्वभाव आर्जें मैले मामाबाटै । बेलाबखत हँस्यौली गर्ने बानी टाँसिएकै छ यो वृद्ध तन्नेरीपनमा । हाँस्नु/हँसाउनु पनि एउटा कर्मयोग । हाँस्नु/हँसाउनु स्वच्छ, सार्थक, स्वच्छन्द जीवनयापनका साधना बन्छ । स्वानुभूति अर्पण मेरो ।
भ्यागुतेरोग मुक्त हुँदै गर्दा थथुबहाल चोकमा भालेहरू, बरुवाल भेडाहरू, बट्टाई (चराको एक प्रजाति) जुधाएको हेर्थें । बट्टाई आपसमा जुध्ने स्वभावजन्य चरो । पान चपाई आर्जेको लाल रङ्गीन थुकले मोली प्वाँख सबलीकरण गरी हुर्काएको जुझारु खैरी चरो । एकापसमा ठुँगी जुध्ने प्राकृत स्वभाव यिनका । सोखिन पारखीको आनन्दी मजाक वहार । हेरी देखी जानेसिकेका अनुभूति आफैँ यी ।
थथुबहाल मल्लकालीन शासन, संस्कार, सभ्यताका आधारशिला । त्यति फराकिलो दक्षिण मोहडाको चोक भक्तपुरमा छैन अन्त कुनै बहालमा । बिछ्याइएका चोकभरिका शोभा शृङ्गारका आधारभूमि ती तेलीया इँटा । ठुला छन्, छन् औसत आकारप्रकारमा । ती मौन अभिव्यक्ति मार्मिक छन् । हामीले बनाउनु छ तिनलाई वाचाल । मौन अभिव्यक्तिलाई वाचाल बनाउन हाम्रा मनमस्तिष्कलाई मन्त्रदान नगरी हुन्न । तिनलाई मन्त्रदान दिने सूत्राधार तन्मय, मन्मय चिन्तन । जपतप ध्यान मात्र योगमा सीमित रहन्न, दैनिक जीवनका कर्मयोगै बनाउनु छ, आफ्नै जीवनकालका जीवन्तताका ।