अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका –२ रूममा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । शुक्रबार च्याउ खाएपछि पाँच जना बिरामी परेको मालिका गाउँपालिका –२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार रूमको भिरखर्कका रेबहादुर पुनको परिवारका पाँचजना बिरामी परेका हुन् ।
च्याउ खाएपछि टाउको दुख्ने, रिँगटा लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिएपछि शुक्रबार राति उपचारका लागि उहाँहरुलाई स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीका प्रमुख हिमाल घर्ती मगरका अनुसार बिरामीको अवस्था खतरामुक्त भएपछि शनिबार डिस्चार्ज गरिएको छ ।
स्वास्थ्यचौकीमा उपचारपछि पाँचै जना घर फर्किएको र उनीहरु प्रत्यक्ष निगरानीमा राख्न स्वास्थ्य चौकीलाई निर्देशन गरिएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार भए पनि जङ्गलमा पाइने सबै खालका च्याउ मानव स्वास्थ्यका लागि योग्य नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।