• २७ वैशाख २०८३, आइतबार

दसैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

blog

काठमाडौँ, भदौ १५ गते ।  दसैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैँकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । 

“नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने छ”, राष्ट्र बैँकले सूचनामा भनेको छ, “साथै बैँक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।” 

चाडपर्वका बेला पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैँकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैँकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको  थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैँक तथा वित्तीय संस्थाले केन्द्रीय बैैँकलाई बुझाउने गरेका छन् ।

 अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैँकले अनुरोध गर्दै आएको छ । रासस