स्मृति मिश्र
जनकपुरधाम, वैशाख ५ गते । धनुषाका अधिकांश ग्रामीण भेगका घरघरमा शौचालय छन्, तर शौचालय प्रयोगमा महिलाहरू तत्परता देखाउँदैनन् । हुलमै बाँधिएर बस्ती परको खेतबारीमा शौच गर्न जाने परम्परागत अभ्यासलाई धान्दै आएका ती महिलाका घरमा भएका शौचालय भने अन्न, इन्धन र निर्माण सामग्री भण्डारण गर्ने ठाउँ बनेका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ का सोबती दासका घरका धेरैजसो वयस्क पुरुष रोजगारीका लागि अरब देशमा छन् । उहाँका बालबच्चा पनि नजिककै अङ्ग्रेजी माध्यमको विद्यालयमा पढ्छन् । सासू ससुरासहित परिवारका सबै सदस्यलाई खेती किसानीबाट खान लाउन पुगेको छ ।
लोग्ने तथा देवरले पठाउने गरेका रकमले उहाँले पोहोर साल बर्खापानीले भत्केको घर हटाई चारकोठे पक्की घर बनाउनुभएको छ । घरकै चौघेराभित्र शौचालय पनि निर्माण भएको छ । तर, उहाँ प्रयोग नहुँदै शौचालयमा गुइँठाचिप्री थन्क्याउन थाल्नुभएको दुई वर्ष बितेको छ । ‘‘घरभित्र ओढ्ने ओछ्याउने, सुत्ने बस्ने अनि नयाँ भाँडाकुँडा हुन्छन् । गुइँठाचिप्री राख्ने ठाउँ नै हुँदैन । त्यसैले खाली रहँदै आएको शौचालयमा ती मालसामान राख्ने गरेकी छु’’ सोबती देवीले भन्नुभयो ।
उहाँसँगै गाउँका अरू महिला पनि आफ्ना घरमा भएका शौचालयमा अन्नबाली, घाँस दाउरा र वस्तुभाउका खान्की थान्कोमुन्को लगाउँदै आउनुभएको छ । शौचका लागि गाउँकै पोखरी नजिकको रुखैरुखले घेरिएको मैदान भएकाले शौचालय प्रयोग गर्नु नपरेको सोबतीकी सङ्गाती अर्की महिला रेवतीदेवी दासको भनाइ छ ।
रेवतीदासले भन्नुभयो, ‘‘घरभित्र कतै दिसापिसाब फेर्ने ठाउँ हुन्छ । देवरबाबुले ढिपी गरेर कुन चाहिँले भनेर बनाइदिनुभयो । भान्साबाट केही दुरीमा छ शौचालय । त्यसैले हामी प्रयोग गर्दैनौं ।’’ तर, सामाजिक अभियन्ता रुबी झा भने रेवतीदासको कुरासँग पूरै सहमत हुनुहुन्न ।
उहाँका अनुसार वर्षौंदेखि खुला ठाउँमा शौच गर्ने प्रवृत्तिका कारण अझै महिलाहरू घरभित्रका शौचालय प्रयोग गर्न चाहँदैनन् । ‘‘एकाबिहान गफगाफ गर्दै समूहमा दिसा गर्न जाने पहिलेदेखिको चलन छ । त्यसैले घरभित्रका शौचालय प्रयोग नहुनुमा प्रवृत्तिगत र मनोवैज्ञानिक कारण दुवै छन्’’ सामाजिक अभियन्ता झाको बुझाइ छ ।
सबैलाजस्तै जिल्लाका बहुसङ्ख्यक ठाउँका दलित, विपन्न र सीमान्तकृत बस्तीका महिलामा शौचालय भए पनि खुला ठाउँमा शौच गर्न जाने बानी अझै कायम छ ।
मधेस प्रदेश खुला दिशामुक्त छ । खुला दिशामुक्त अभियान र अन्य कारणले मधेस प्रदेशका घरमध्ये ७२ प्रतिशतमा शौचालय छन् ।
सन् २०११ को जनगणनाअनुसार यस प्रदेशका ७३ प्रतिशत घरमा शौचालय थिएनन् । शौचालयको सङ्ख्यात्मक अवस्थामा सुधार आए पनि शौचालय प्रयोग नहुने स्थिति दुर्भाग्यपूर्ण रहेको जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको कथन छ । उहाँले भन्नुभयो, ‘‘हामीले शौचालय प्रयोग गर्न चेतनामूलक अभियान पनि सञ्चालन गरिरहेका छौं । तर आशातीत सफलता प्राप्त गर्न सकिएको छैन ।’’
खुला ठाउँमा शौच गर्दा महिलाहरू स्वास्थ्यसम्बन्धी समस्यामा पर्ने गरेको अनुभव डा. रविरञ्जन प्रधानको छ । उहाँले भन्नुभयो, ‘‘शौचालय प्रयोग गर्दा झाडापखाला, हेपाटाइटिस ए र ई, टाइफाइड, पोलियो, जियार्डिया, एमोबियासिस, एसकारससिस, हुकवार्म, टिन्यासिस आदि रोगबाट बच्न सकिने सन्देश लक्षित समूहसम्म पु¥याउन सकियो भने शौचालयको प्रयोग बढाउन सकिन्छ ।’’