दस किलोको ट्युमरको सफल शल्यक्रिया
कुनै महिलाको पाठेघरमा करिब १० किलोको ट्युमर छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर विराट नर्सिङ होममा उपचारका लागि आउनुभएकी एक महिलाको पाठेघरबाट नौ किलो दुई सय ग्राम तौलको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ। पथरी शनिश्चरे नगरपालिका–४ स्थायी घर भएकी महिलाको विराट नर्सिङ होमका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीको नेतृत्वको टिमले सफल शल्यक्रिया गरेको हो। करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वातसल्य अर्याल, डा. फारिदा खातुनलगायतको सहभागिता थियो।
तनहुँमा पहिलो पटक महिला प्रशासकीय अधिकृत
जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ ।
सुनकोसी–मरिण डाइभर्सनको सुरुङ मार्ग निर्माण ठप्प
सेवासुविधा माग गर्दै मजदुर आन्दोलनमा उत्रिएपछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण छ दिनदेखि ठप्प रहेको छ । जिल्लाले तय गरेको दरअनुसारको ज्याला पाउनुपर्नेलगायतका १२ सूत्रीय माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका मजदुर बुधबारसम्म काममा फर्किएका छैनन् । मागप्रति ठेकेदार चिनियाँ कम्पनी कोभेक सकारात्मक नभएकाले काममा कहिले फर्किने भन्ने निश्चित नभएको मज्दुरले बताएका छन् । सङ्घर्ष समितिका संयोजक सुब्बासिङ घिसिङले भन्नुभयो, “एक–दुई पटक चिनियाँ कम्पनीसँग पनि छलफलमा बस्यौँ तर हाम्रा माग सुन्नुको साटो उल्टै उनीहरूको गुनासो सुनेर आयौँ ।”
सप्तकोशी पीडितको उद्धार कार्य जारी
उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।
कालीगण्डकी दोहन रोक्न समन्वय समितिको निर्देशन
पर्वत जिल्ला समन्वय समिति कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन कार्य तीन दिनभित्र रोक्न र त्यहाँ रहेका मेसिन औजार हटाउन निर्देशन जारी गरेको छ। सो समितिले नदीमा वर्षाको समयमा हुने दोहन रोक्नका लागि कालीगण्डकी नदीवरपर रहेका मेसिनरी औजार तीन दिनभित्र हटाउन निर्देशन दिएको हो। समितिले अनुमगन निरीक्षणक्रममा नदीकिनारमा मेसिन औजार नभेटिए पनि बालुवाको घाटगद्दी गरिएको पाइएको हुँदा मालढुङ्गा–बेनी सडकवरपर राखिएका साधन तत्काल हटाउन निर्देशन दिएको हो। वर्षात् सुरु भएसँगै नदीका अधिकांश ठाउँमा जबरजस्ती बालुवा निकालिँदै आएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न
बुटवलमा एक हजार जना अट्ने सभा हलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्य सकिएको छ। बुटवल–८, रामनगर (प्रदर्शनी मेला लाग्ने ठाउँ)मा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो।
युद्ध भुलाउन शान्ति स्मारक
‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तत्कालीन डीएसपी ठूले राईको अपहरणको सन्देश, केही शवका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।
कर्णालीबाट चिकित्साशास्त्र अध्यापन
स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत हुनुहुन्छ । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उहाँलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उहाँले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताउनुभयो । पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उहाँले भन्नुभयो, “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”
उदयपुरमा फर्कियो कोसी
उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटेबाट सप्तकोसीको भँगालो मानव बस्तीमा पस्दा एक हजार पाँच सय घरपरिवार डुबानमा परेका छन्। करिब १० हजार घर डुबानको उच्च जोखिममा छन्। सप्तरीमा पनि यसको असर पर्ने भएको छ तर हालसम्म मानवीय क्षति भने भएको छैन।