• ३ असार २०८१, सोमबार

युद्ध भुलाउन शान्ति स्मारक

blog

राजु लामिछाने 

रुकुमपूर्व, साउन १९ गते । ‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । 

चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तत्कालीन डीएसपी ठूले राईको अपहरणको सन्देश, केही शवका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।

यो सजीव चित्र रुकुमपूर्वको भुमे गाउँपालिका–६, महतमा बनाइएको ‘युद्ध फिचर तथा स्मारक पार्क’को हो । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादीबीचको दोहोरो भिडन्त, माओवादी आक्रमण, राज्यको एकोहोरो चेपुवामा निसासिएको रुकुमपूर्वको महत गाउँको कहानी यसै पार्कले सम्झाउँछ । 

शान्तिको चिर कामना गरिरहनसमेत प्रेरित गर्छ । भूमे गाउँपालिकाले यहाँको ऐतिहासिक भूमिलाई युद्ध पर्यटनका रूपमा चिनाउन बनाएको युद्ध स्मारक पार्कको यो विशेषताले सबैलाई मोहित पारेको छ, आकर्षण बढाएको छ ।

“महत गाउँमा लडाइँ कसरी भयो भन्ने जिज्ञासा महत गाउँको सिरानसँगैको भित्तामा टाँसिएको चित्रले देखाउँछ,” युद्ध स्मारक पार्कका परिकल्पनाकार रामसुर बुढा भन्नुहुन्छ, “अब युद्ध नहोस्, शान्ति होस् भन्ने कामनालाई गाउँको बीचमा रहेको शान्ति स्मारक र बुद्धको सालिकले प्रस्ट्याउँछ ।”

युद्ध पर्यटनको विकास

महत गाउँमा मात्र ५८ जनाले जनयुद्धका कारण ज्यान गुमाए । उनीहरूको सम्झनामा युद्ध फिचर तथा शान्ति स्मारक निर्माण गरिएको छ । तत्कालीन जनमुक्ति सेनाका कमान्डर पासाङसहितका लडाकुदस्ताको मूर्ति राखिएको छ । माओवादीले आक्रमण गर्ने बेलाको प्रहरी चौकी, त्यो बेलाको महत गाउँ चित्रमा बनेको छ । जसलाई संरक्षण गरेर गाउँपालिकाले युद्ध पर्यटनका रूपमा विकास गर्दै छ ।

जीवित नेताको मूर्ति

महत गाउँमा रहेको प्रहरी चौकीमा २०५६ असोज ५ गते माओवादीले आक्रमण गरेको थियो । आक्रमणका मुख्य कमान्डर नन्दबहादुर पुन पासाङसहितका लडाकुको मूर्ति तयार गरेर युद्ध स्मारक पार्कमा राखिएको छ । प्रशिक्षण दिँदै गरेका पासाङसँगै अहिलेका भूमे गाउँपालिका अध्यक्ष तथा तत्कालीन १ नम्बर प्लाटुन कमान्डर होमप्रकाश श्रेष्ठ र २ नम्बर प्लाटुन कमान्डर हरिबहादुर पुनको मूर्ति सजाइएको छ ।

हिमाल र वरुणको टोलीले प्रहरी चौकी आक्रमणका लागि पासाङको फौजलाई सहयोग गरेको थियो । त्यसैगरी घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मी कृष्ण रेग्मी (हाल सिस्ने गाउँपालिका अध्यक्ष) र अर्का प्लाटुन कमान्डर किशोर घर्तिको मूर्ति बनाइएको छ । 

चितवन र दाङबाट दक्ष कालिगडहरू ल्याएर गाउँपालिकाले गाउँमै मूर्ति बनाएको हो । भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाको परिकल्पनामा निर्माण भएको यो युद्ध स्मारक पार्कमा मूर्ति, प्रहरी चौकी, महत गाउँ, उद्धारका लागि आएको हेलिकोप्टर, विद्यालयको चित्र सजाइएको छ ।

रामसुरको परिकल्पनाअनुसार यी युद्ध फिचर हेर्ने र आक्रमणको रहर गर्न चाहनेले अभ्याससमेत गर्न सक्ने बताइएको छ । सबै काम पूरा भएपछि प्लास्टिकको बन्दुक, हतियार र गोलीको समेत व्यवस्था गरेर युद्ध अभ्यासको नक्कल गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

शान्ति र विकासको चाहना

‘हामी शान्ति चाहन्छौँ’ भन्ने सन्देश दिन बुद्धको मूर्ति बनाइएको र ‘मृतकको सम्झनामा’ शान्ति स्मारक निर्माण गरिएको रामसुरले उल्लेख गर्नुभयो । गाउँको सिरानमा निर्माण गरिएको युद्ध फिचरमा दुई पक्षबीचको लडाइँको दृश्यलाई प्रदर्शन गरिएको छ ।

जसले युद्ध अब स्मरणमा मात्रै रहोस् भनेर सन्देश दिन खोजिएको छ । युद्ध फिचर राखिएको स्थानलाई युद्ध स्मारक पार्कका रूपमा प्रचार गरिँदै छ । ‘जनता विकास र समृद्धि चाहन्छन्, यसका लागि स्थायी शान्ति आवश्यक छ’ भन्ने सन्देश प्रवाह गर्न युद्ध फिचर र शान्तिको स्मारक निर्माण गरिएको हो ।

प्रहरी अधिकृत अपहरण

महत गाउँको प्रहरी चौकीमा माओवादीले आक्रमण गरेर तत्कालीन डीएसपी ठूले राईलाई अपहरण गरेको थियो । सशस्त्र द्वन्द्वका बेला माओवादीले नेपाल प्रहरी उच्चस्तरको अधिकृत अपहरण गरेको यो पहिलो घटना हो । भोलिपल्ट गाउँमा प्रहरी पसेर दुई जना सर्वसाधारणको हत्या गरेका थिए । आक्रमणमा परेर दुई जना प्रहरी र प्रहरीको संरक्षणमा रहेका दुई जना कांग्रेस कार्यकर्ताको ज्यान गएको थियो । त्यसको केही दिनपछि असोज ३० गते गाउँकै सात जनालाई गिरफ्तार गरी नजिकैको जङ्गलमा लगेर छ जनाको हत्या गरिएको थियो ।

पटकपटक क्षति

तेस्रोपल्ट २०६० साल असोज ५ गते सेनाले गाउँ घेरा हालेर चलाएको गोली लागेर १७ जना सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये छ वर्षीय, १० वर्षीय र १४ वर्षीय नाबालकका साथै ७६ वर्षीय वृद्धले समेत ज्यान गुमाउनुपरेको थियो ।

साबिकको महत गाविसमा मात्रै राज्यपक्षबाट ५२ जनाले ज्यान गुमाएका थिए भने विद्रोही पक्षबाट छ जनाले ज्यान गुमाएका थिए । त्यही दर्दनाक पीडालाई बिर्साएर ज्यान गुमाएकाको योगदानलाई कदर गर्न गाउँको बीचमा गौतम बुद्धको मूर्ति, बुद्ध मूर्तिसँगै मृतकहरूको नाम अङ्कित स्तम्भ र गाउँको सिरानमा युद्ध स्मारक पार्क बनाइएको छ ।

युद्ध सङ्ग्रहालय निर्माण गर्ने भनिएको चुन्वाङ भूमे गाउँपालिकाभित्रै पर्ने र गुरिल्ला पदमार्ग पनि यही बाटो भएर अगाडि बढ्ने भएका कारण भूमेको भूमिलाई युद्ध पर्यटनमा चिनाउने गरी काम भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । यसको सकारात्मक प्रचार, युद्धको स्मरण, शहीदको सम्मान र शान्तीको कामनासँगै पर्यटनको विकास यस पार्कबाटै गर्न सकिने विश्वास उहाँको छ । सो गाउँपालिकाका अनुसार गत वर्षसम्म पार्क निर्माणका लागि ६८ लाख ५० हजार खर्च गरिएको छ ।