• ८ वैशाख २०८२, सोमबार

-याफ्टिङ गर्न आउनेको घुइँचो

blog

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, वैशाख ८ गते  । गर्मी छल्न सुकुटे क्षेत्रमा रहेको सुनकोशी नदी र बाह्रबिसे माथिको भोटेकोशी नदीमा -याफ्टिङ गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटे र बाह्रबिसे नगरपालिकाको सीमा क्षेत्रका नदीमा अहिले -याफ्टिङ गर्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिनुभयो । -याफ्टिङ गर्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा अहिले दोब्बर भएको बताउनुभयो ।

-याफ्टिङ बाइक, माउन्ट बाइकिङ, बन्जी जम्पिङका लागि आउने पर्यटक बढिरहेका छन् । -याफ्टिङका लागि विश्वभरका सानाठुला छ हजार नदीनालामध्ये १० उत्कृष्ट एड्भेन्चर नदीको सूचीमा सातौँ नम्बर सुनकोशी र भोटेकोशी नदी पर्दछ । यी नदीमा बर्सेनि लाखौँ पर्यटकले -याफ्टिङ गर्न आउने गरेका छन् । नदी कोरिडोरमा रहेका रहेका रिसोर्ट, होटलमा आन्तरिक र बाह्य पर्यटक -याफ्टिङका लागि आउने क्रम वृद्धि भएको सिन्धु बिच रिसोर्टका सञ्चालक ईश्वरलाल श्रेष्ठले जानकारी दिनुभयो । अहिले सुकुटे क्षेत्रमा रहेका रिसोर्ट र होटेल पर्यटकले भरिभराउ हुन थालेपछि छिमेकी बजारमा वास बस्न थालेका छन् । खाडीचौर, बाह्रबिसे, बलेफी, दोलालघाटमा रहेका होटेलमा पर्यटक भरिएका छन् । बिहानैदेखि -याफ्टिङका लागि सुकुटे र बोर्डर ल्यान्ड पुग्ने गरेका छन् । सुनकोशी नदी र भोटेकोशी नदीको पानी अन्य नदीको तुलनामा सफा र नदीको बहाब तीव्र भएका कारण -याफ्टिङका लागि पर्यटक बर्सेनि आउने गरेका हुन् । 

अहिले आन्तरिक पर्यटक -याफ्टिङको मज्जा लिन आइपुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिन, शुक्रबार र शनिबार सुनकोशी नदी र भोटेकोशी नदीमा -याफ्टिङ गर्नेको लर्को नै देखिन्छ । सुनकोशी र भोटेकोशीमा -याफ्टिङ गर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण बजार क्षेत्रका व्यापार बढेको छ ।