• २६ चैत २०८२, बिहिबार

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की। तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, पुस २ गते । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताउनुभएको छ । 

संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले बुधबार पुल्चोकस्थित यूएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गर्नुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘नेपालले संयुक्त राष्ट्र संघलाई उच्च मूल्याङ्कन गर्छ। तपाईंहरूले विश्व शान्ति कायम राख्न, विकासलाई समर्थन गर्न र हामीलाई राम्रो भविष्य निर्माण गर्न मद्दत गर्दै आउनुभएको छ। लामो समयदेखि संयुक्त राष्ट्र संघले नेपाल जनताको जीवन सुधार गर्न मद्दत गर्दै आएको छ। हामी यो सहयोगको कदर गर्छौं।’ 

प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराउनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उहाँले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उहाँले जानकारी दिनुभयो । 

साथै उहाँले सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक हुन्छ भन्नुभयो ।

परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाउनुभयो ।