• २६ चैत २०८२, बिहिबार

आर्थिक गणनासम्बन्धी सचेतना गोष्ठी

blog

आर्थिक गणनाको तयारी र प्रक्रियाका बारेमा जानकारी गराउनुहुँदै गणना अधिकारी अवधेशकुमार शुक्ला । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २५ गते । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रुपमा गरिने दोस्रो आर्थिक गणनालाई लक्षित गरी नेपालगन्जमा सचेतना गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय बाँकेको आयोजनामा सरोकारवाला सहभागी रहेको जिल्लास्तरीय सचेतना गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले आर्थिक गणनाको तयारी र प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार बाँके जिल्लामा आर्थिक गणनामा ९७ जना कर्मचारीहरू खटिने भएका छन् । उहाँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रूपमा गरिने दोस्रो आर्थिक गणनामा ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ जना खटिने जानकारी दिनुभयो । 

“आर्थिक गणनामा देशको समग्र आर्थिक संरचना र क्रियाकलापहरूको पूर्ण गणना हो । यसले अर्थतन्त्रको आकार, संरचना र विशेषताहरूबारे आधारभूत र भरपर्दो तथ्यांक संकलन गर्छ, जसले नीति निर्माण, योजना तर्जुमा, विकास रणनीति र थप सर्वेक्षणहरूका लागि फ्रेम तयार पार्छ", गणना अधिकारी शुक्लाले भन्नुभयो ।

आर्थिक गणनामा प्रतिष्ठानको सङ्ख्या र प्रकार, स्वामित्व र कानुनी स्थिति, रोजगारी, लगानी र पुँजी, उत्पादन र सेवा प्रवाह, व्यवसाय सञ्चालनको विवरण, ऋण पहुँच, महिला व्यवस्थापकको अनुपात, क्षेत्रीय र प्रादेशिक वितरण आदिको तथ्यांक संकलन हुने उहाँको भनाइ छ ।

उक्त गोष्ठी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, सहायक प्रमुख अधिकारी गुरुङ, नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सन्तोष पौडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।