गजेन्द्र गुरुङ
खजुरा, चैत २५ गते । बाँकेको डुडुवा गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्रअन्र्तगत पाँच शय्याको आधारभूत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ ।
मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४सै घण्टा सेवा सञ्चालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेसी, डिजिटल एक्स–रे, भिडिओ एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताउनुभयो ।
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बिच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सीमित साधन स्रोतबाट आधारभूत अस्पतालबाट २४सै घण्टा सेवा सुरु गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अस्पतालमा थप बेड र सेवाको स्तरोन्नति वृद्धि गरी उच्चस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो ।
अध्यक्ष चौधरीले गाउँमै अस्पताल भएपछि यहाँका बिरामी नेपालगन्ज सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको र निःशुल्क तथा सहुलियतमा सेवा प्रदान गर्नाले स्थानीयलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पालिकाले जनस्वास्थ्य अधिकृत हेमन्तकिशोर शर्मालाई अस्पतालको व्यवस्थापन गर्न जिम्मा दिएको छ । पालिकाले स्वास्थ्य केन्द्रको परिसरमा नयाँ भवन निमार्ण गरि अस्पताल सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य अधिकृत वीरेन्द्र घलेले सञ्चालन गरेको शुभारम्भ कार्यक्रममा स्वास्थ्य अधिकृत भिमबहादुर विकले स्वागत गर्नुभएको थियो ।
डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ।
अहिले पालिकाका चार वटा स्थानमा निःशुल्क प्रयोगशाला, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधासम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट वञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधिबाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसूति सेवा र स्वास्थ्य समस्या आउनेबित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।