देवराम यादव
सप्तरी, चैत २५ गते । निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत बुधबार संघले सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका महासचिव अमृतलाल साहको नेतृत्वमा पुगेका संघका पदाधिकारी तथा निर्माण व्यवसायीहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
इन्धन लगायतका निर्माण सामग्रीमा भएको अशोभनीय मुल्यवृद्धिले सम्पूर्ण निर्माण व्यवसायी मारमा परेको भन्दै ज्ञापनपत्रमा नियन्त्रणका लागि सरकारसंग जोडदार माग गरिएको छ। मध्य पूर्व र पश्चिम एशियामा देखिएको युद्धको कारण देखाउँदै नेपाल आयल निगमबाट अस्वाभाविक मुल्य वृद्धि गरेको उल्लेख गर्दै ज्ञापनपत्रमा मूल्यवृद्धि नरोकिए सम्पूर्ण निर्माण व्यवसाय ठप्प हुने चेतावनी समेत दिइएको छ ।
मूल्य बुद्धिले पूर्वाधार निर्माण कार्यमा ठूलो प्रभाव पारेको बताइएको ज्ञापनपत्रमा यही अबस्थामा मुल्य स्थिरता कायम हुन नसक्ने भएकोले तत्काल आवश्यक सुधार गरि निर्माण क्षेत्रलाई सहज बाताबरण सिर्जना गर्न संघले जोडदार माग गरेको छ ।
संघले पेट्रोलियम पदार्थमा निरन्तर भएको मुल्य वृद्धिसंग निर्माण सामाग्रीहरुको मुल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले माग सम्बोधनका लागि तत्काललै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।