• २६ चैत २०८२, बिहिबार

‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’

blog

मोरङ, चैत २४ गते । अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आज यहाँ विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि राजस्व परामर्श समितिको छलफल तथा अन्तरक्रियामा उहाँले मुलुकमा रोजगारी सृजना एवं आर्थिक क्रियाकलाप वृद्धिका लागि सरकारले निजी क्षेत्रको त्यो भूमिकालाई थप बढाउन आवश्यक सहजीकरण गर्ने बताउनुभयो । 

सचिव उपाध्यायले हाल मुलुकमा स्थायी सरकार बनेकाले उद्यमी एवं व्यापारीमैत्री कानुन तर्जुमासहित देश विकासमा योगदान गर्ने स्वर्णिम अवसर रहेको धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले व्यक्तिको सम्पत्ति पनि राष्ट्रिय सम्पत्ति भएकाले यसको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले व्यापार सहजीकरण गरी आर्थिक समृद्धि कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले निजी क्षेत्रको मागअनुसार भन्सार क्षेत्रमा सुधार गरिएको बताउनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, नेपाल उद्योग व्यापार महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी, उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग परिसङ्घका पवन शारडालगायतले विविध विषयमा आफ्ना धारणा राख्नुभएको थियो । रासस