शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस २ गते । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका –६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।
नौवटा कार्टुनमा लुकाएर राखिएको भेप एक हजार ८०० पिस रहेको सशस्त्र प्रहरी बल नम्बर २६ हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक गोविन्द केसीले जानकारी दिनुभयो ।
भेप भारततर्फ तस्करी गर्न सीमा क्षेत्रनजिक लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको भेप महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । हिजो मात्रै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा दश गजाबाट २० लाख बढीको अवैध कफी बरामद गरी भन्सार बुझाएको थियो ।