ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ३ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ । शैक्षिक क्षेत्र सुधार कार्यविधि प्रकाशन नगरी गाउँपालिकाले १४ लाख ९९ हजार ९ सय ९९ रुपियाँ भुक्तानी गरेको पाइएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न १० वटा कार्यविधि निर्माणका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेर नेपाल क्यारियर ट्रेनिङ फाउन्डेशन प्रा.लि.सँग सम्झौता गरेको थियो ।
सम्झौता बमोजिम उक्त कार्यविधि निर्माण नगरी पालिकाले भुक्तानी गरेको महालेखापरीक्षकको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षक प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखापरीक्षक अवधिमा गाउँपालिकाले उक्त कार्यविधि प्रकाशन गरेको प्रमाण पेश गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सम्झौता अनुरुप शिक्षा सम्बन्धी कार्यविधि परामर्शदाताले मुखपृष्ठसहित संग्रहको रुपमा पेश गर्नुपर्नेमा नगरेको साथै पेश भएको ड्राफ्ट कपी उल्लेखित अनुसूचीको ढाँचा संलग्न नगरी ड्राफ्ट प्रतिलिपिका आधारमा भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले आफ्नै जनशक्तिबाट उक्त कार्यविधि नबनाएर सरकारी कोषको दुरुपयोग गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । यसबारेमा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत टंकनाथ पौडेलसँग थप जानकारी लिन खोज्दा उहाँले फोन रिसिभ गर्नुभएन ।
गाउँपालिकाकै जनशक्तिबाट निर्माण गर्न सकिने कार्यविधिलाई लाखौं रुपियाँ खर्चिएर रकमको दुरुपयोग गरेको भन्दै यतिखेर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको आलोचना समेत भएको छ ।