कोकिला ढकाल
इलाम, पुस २ गते । गत असोज १८ गतेको बाढी पहिरोबाट जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलहरुमा भएको क्षतिपछि सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित भएका छन् ।
विपद्पछि इलामका सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, जलविद्युतसहित सर्वसाधारणका घरमा क्षति पुुग्दा करिब १२ अर्ब रुपियाँ बढीको क्षति भएको थियो । क्षतिपछि इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरेको सरकारले अहिले मन्त्रालयहरुमा पुनर्निर्माण गर्न पेश गरिएको योजनाहरु फर्काइ दिएपछि जिल्लाबासी आन्दोलित भएका हुन् ।
आन्दोलनको क्रममा सचेत इलामेली नागरिक समूहले आज इलामस्थित सडक डिभिजन कार्यालय प्रमुुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । यस्तै, समुहले विहान ११ बजेदेखि १२ बजेसम्म साँकेतिक रुपमा सदरमुकामस्थित मेची राजमार्गको जिरो किलोमिटरमा यातायात बन्द गराएका छन् ।
विपद्पछिको इलाममा पुनर्निर्माणको काम हुनुुपर्ने मागप्रति गैसस महासंघ इलाम उद्योग वाणिज्य संघ इलाम, नेपाल पत्रकार महासंघ इलाम, इलाम नगरपालिका लगायत जिल्लास्थित विभिन्न संघ संस्था र कार्यालयहरुले ऐक्यबद्धता जनाएका छन् ।
यता सडक डिभिजन प्रमुख पवन भट्टराईले पुनर्निर्माणका लागि सबै योजनाहरुको फाइल तयार गरेर मन्त्रालय र विभागमा पठाइएको भए पनि निर्वाचनमा रकम खर्च गर्नुपर्ने कारण पुनर्निर्माणको काम गर्न नसकिने माथिबाट पत्र आएको बताउनुुभयो ।
अति आवश्यक योजनाको मात्र फाइल पठाउन पनि भनिएकाले ७५ करोडको योजना पुनः पठाइएको भट्टराईले जानकारी दिनुुभयो । डिभिजन कार्यालयले यसअघि सडक र बाढीले बगाएका पुल निर्माणका लागि सात अर्बको योजना पेश गरेको जनाएको छ ।
यता जिल्ला बासीले पुनर्निर्माणको काम नहुँदा आफूहरु आन्दोलित भएको र आउँदो निर्वाचनका कायक्रम समेत जिल्लामा हुन नदिने समेतका आन्दोलनका कार्यक्रम गर्ने सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको समूहका संयोजक ईश्वर चिपालुुले बताउनुुभयो ।