• १ पुस २०८२, मङ्गलबार

रानी जमरा कुलरियामा बनेको जलविद्युतको स्थानीयले शेयर पाउँछन्ः मन्त्री घिसिङ

blog

कैलालीको जानकी गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कुलमान घिसिङ। तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना 

टीकापुर, पुस १ गते। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित चार दशमलव ७१ मेगावाट जलविद्युत आयोजनाको शेयर स्थानीयले पाउने बताउनुभएको छ। मङ्गलबार कैलालीको जानकी गाउँपालिकाले आयोजना गरेको पालिकाको विकास निर्माण सम्बन्धमा मन्त्री र सरोकारवालाबीच भेटघाट कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताउनुभएको हो।

‘यहाँ उत्पादित विद्युतको स्थानीयले सेयर पाउने गरी कम्पनी खडा गरेर अर्थ मन्त्रालयमा पठाएका छौं’, मन्त्री घिसिङले भन्नुभयो, ‘सहमति आएपछि मन्त्रिपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा जानेछ।’ 

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसहित अध्यक्षको गृह जिल्ला कैलाली आउनुभएका मन्त्री घिसिङले १० हजार ८०० मेगावाट जलविद्युत सम्भावना भएको कर्णाली चिसापानी जलविद्युत आयोजना बनाउन पुनः अध्ययन भएको बताउनुभयो। 

उहाँले मन्त्री घिसिङले ऊर्जाबाट उज्यालो भएको देशमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्र पनि उज्यालो बनाउन आवश्यक रहेकोले आफू राजनीतिमा आएको पनि बताउनुभयो।

कार्यक्रममा जानकी गाउँपालिका–४ मा पथरिया नदीले गरेको कटानी रोक्न तटबन्ध, गाउँपालिकाको प्रशासकीय भवनका लागि नपुग रकम, १५ शय्या अस्पतालको लागि बजेट विनियोजन गरिदिन पालिकाका तर्फबाट उपाध्यक्ष लालमती कठारियाले अनुरोध गर्नुभएको थियो। जेन्जी युवा आदित्य न्यौपानेले जेन्जी आन्दोलनपछि बनेको सरकारका मन्त्री पनि तामझामका साथ कार्यक्रममा उपस्थित भएको देख्दा दुःख लागेको बताउनुभयो।