काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्नुभएको छ । शाह नेतृत्वको सरकार गठन भएपछि बुधबार मध्याह्न सिंहदरबारमा विदेशी कूटनीतिज्ञसँग पहिलो पटक सामूहिक भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको सो छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजना गरिएको हो ।
छलफलका क्रममा सहभागी राजदूतले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वास समेत व्यक्त गर्नुभएको छ ।