बेरुत (लेबनान), चैत २५ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ । इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्धको कारबाहीको निरन्तरताका लागि आक्रमण जारी राखिएको जनाइएको छ ।
इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरे पछि इजरायलले आक्रमण गरेको जनाइएको छ । यसैबिच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्ण रूपमा समावेश गरेको सुनिश्चित गर्नु पर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
पछिलो समयमा इजरायली आक्रमणले एक हजार ५०० भन्दा बढी मानिसको ज्यान लिएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । लेबनानी अधिकारीका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको प्रभुत्व रहेको छ । निकासी आदेश जारी गर्दै लेबनानी सेनाले विस्थापित मानिसलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ । युद्धविरामको घोषणा हुनुभन्दा केही समय अघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो । रासस/एएफपी