काठमाडौँ, चैत २५ गते । प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधीको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीब खत्रीले औषधी परामर्श परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले औषधीको मूल्यवृद्धि गर्नुपर्नेमा प्रक्रिया मिचेर बदनियतपूर्वक आफूखुसी मूल्यवृद्धि गरी अर्बौँ लुटिएको दाबी गर्नुभयो ।
उहाँले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याइसकेको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई निष्कर्ष दिन समय लगाएको टिप्पणी गर्नुभयो ।
सांसद खत्रीले औषधी व्यवस्था विभागका महानिर्देशकले २०७८ सालमा नयाँ दर्ता र नवीकरण गर्दा सात विदेशी कम्पनीका ५२ ब्रान्डको औषधीमा २६ दशमलव ८८ प्रतिशतदेखि ३३ दशमलव ९९ प्रतिशतसम्म गराइएको वृद्धिको मार जनताले खेप्नु परेको बताउनुभयो ।
उहाँले उपचार खर्चमा विरामीको सबैभन्दा बढी खर्च औषधीमै हुने र स्वास्थ्य सेवा महङ्गो हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी, निम्न मध्यमवर्गमा र निम्न वर्ग गरिबमा झर्छ भने गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्ने तथ्य स्मरण गराउनुभयो । रासस