• २६ चैत २०८२, बिहिबार

गुल्मीमा पुग्यो पाठ्यपुस्तक

blog

तम्घासस्थित जनता पुस्तक पसलमा ल्याइएका पाठ्यपुस्तक। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, चैत २६ गते।
आगामी शैक्षिक सत्र २०८३ का लागि गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। यस जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको बताइएको छ। शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै यस जिल्लामा हालसम्म ९६ हजारभन्दा बढी पाठ्यपुस्तक आइपुगेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन हुनुभन्दा अगाडि नै पुस्तक व्यवसायीलाई उपलब्ध गराएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ गुल्मी शाखाका सचिव गोपाल बस्नेतले बताउनुभयो। पुस्तक व्यवसायीको मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रले पुस्तक पर्याप्त मात्रामा उपलब्ध गराएको छ। यस जिल्लाका पुस्तक व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय बुटबलबाट पुस्तकहरु सेटमा सहजै ल्याउनुभएको उहाँले बताउनुभयो।

यस जिल्लामा पुस्तकको अत्यधिक मात्रामा कारोबार गर्ने तम्घासस्थित जनता पुस्तक पसलका व्यवस्थापक समेत रहनुभएका बस्नेतका अनुसार अहिले पनि पुस्तक पर्याप्त सेटमा उपलब्ध भएको छ। विद्यालयले विद्यार्थीको सङ्ख्याको आधारमा सूची दिने हो भने पुस्तक व्यवसायीले सहज रुपमा नै विद्यालयमा पुस्तक पुर्‍याउन सक्ने उहाँले बताउनुभयो। हालसम्म यस जिल्लामा ९६ हजार ७१४ थान पुस्तक यहाँका व्यवसायीले ल्याउनुभएको छ।

कक्षा एकदेखि चारसम्म विद्यार्थी निजी विद्यालयमा धेरै हुने हुँदा सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत पुग्ने गरी आफ्नो अनुमानले यहाँका व्यवसायीहरुले पुस्तकहरु सेटमा ल्याउनुभएको छ। यहाँका पुस्तक व्यवसायीहरुले कक्षा दशसम्मका विद्यार्थीहरुका लागि अनुमानित ३० हजार सेट पुस्तकहरु ल्याउनुभएको सचिव बस्नेतले बताउनुभयो। निजी प्रकाशन गृहले प्रकाशन गरेका नेपाली र अङ्ग्रेजी माध्यमका पुस्तकहरु पनि यस जिल्लामा आइसकेका छन्। पुस्तक व्यवसायीले मागेको सङ्ख्याको आधारमा पुस्तक आएका छन्।

यहाँ विद्यार्थी, रिडमोर, वेदान्त, एकता, युनाइटेड, आठराई, ओयसिस, मेघा, टेक्सलाइनर, एसिया, सनराइज, स्वस्तिक, स्वर्णिमलगायतका प्रकाशनका पुस्तक विद्यालयले लगाउने गरेका छन्। विद्यालयको नतिजा प्रकाशन नभएको हुँदा विद्यार्थी भर्ना सङ्ख्या कति भन्ने अझै थाहा नभएको उहाँले बताउनुभयो। जुन विद्यालयबाट पुस्तकको लिस्ट आउँछ, त्यस विद्यालयमा व्यवसायी स्वयंले पुस्तक पुर्‍याउने उहाँको भनाइ छ।