धनगढी समाचारदाता
धनगढी, चैत २६ गते । कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालयको चौथो सभा बैठक (सिनेट) ले आगामी शैक्षिक सत्रबाट मेडिकल पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विश्वविद्यालयमा चार विधामा अध्ययन हुने जनाइएको छ ।
पठनपाठनका लागि एमबिबिएसको ५० सिट, बिएस्सी नर्सिङको ३० सिट, ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र बी अप्टोमेरीको २०/२० सिटका लागि चिकित्सा शिक्षा आयोगमा पठाएको जनाइएको छ । यसै गरी बैठकले तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनीलकुमार जोशीले जानकारी दिनुभयो ।
शिक्षण अस्पताल सुरु नभइसकेको अवस्थामा यस क्षेत्रको जनतालाई स्वास्थ्य सेवा दिनका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल मात्रै सञ्चालन गरिरहेको छ । अर्को आर्थिक वर्षदेखि यसलाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गरिने उपकुलपति जोशीले बताउनुभयो । विश्वविद्यालयमा चिकित्सा सेवा, शिक्षा र अनुसन्धान गरी तीन वटा क्षेत्र छन् । यी तीन वटै क्षेत्रलाई लिएर अगाडि बढ्ने सन्दर्भमा बैठकमा गहन छलफल भएको पत्रकार सम्मेलनमा जनाइएको छ । “हामीले धेरै विषयमा निर्णय गरेका छौँ,” उपकुलपति जोशीले भन्नुभयो, “चार वटा शैक्षिक कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेका छौँ ।”
चिकित्सा शिक्षा दिनलाई शिक्षण अस्पताल चलाउनुपर्ने र यसका लागि शिक्षा र स्वास्थ्य दुवै मन्त्रालयसँग सहकार्य गर्नुपर्ने जनाइएको छ । बैठकमा कार्यकारी परिषद्का सदस्य मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपकुलपति, रजिस्ट्रार, सल्लाहकारको उपस्थिति रहेको थियो ।
विश्वविद्यालय सरकारको प्राथमिकतामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्वविद्यालयपरिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आगामी शैक्षिक सत्रमा जुनसुकै हालतमा पनि पठनपाठन सञ्चालन गर्नेतर्फ सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । “आर्थिक हिसाबले कुनै पनि कमजोरी नहोस् भनेर प्रधानमन्त्रीसँग पनि सल्लाह भएको छ,” उहाँले भन्नुभयो, “आर्थिक पाटोले केही पनि बाधा नहोस् भनेर उहाँले सबैलाई निर्देशन दिनुभएको छ ।”
मन्त्री पोखरेलले विश्वविद्यालयमा पठनपाठन सञ्चालनका लागि शिक्षा र अर्थ मन्त्रालय पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । चिकित्सा शिक्षा आयोग पनि सकारात्मक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले राज्यको आर्थिक स्रोत हेर्दा खेरी सबै ठाउँमा कठिन नै देखिएको छ तर हाम्रो शिक्षामा प्राथमिकता भएको हुनाले कुनै पनि हालतमा आगामी सत्रदेखि पठनपाठन सुरु गर्छौं ।”