कालीकोट समाचारदाता
कालीकोट, वैशाख ७ गते । कालीकोटको रास्कोट नगरपालिकामा सरकारले शिक्षामा गरेको वार्षिक २० करोड रुपियाँको लगानीको उपलब्धि भने शून्य जस्तै भएको पाइएको छ । प्रतिवर्ष नगरपालिकाका विद्यालयमा सरकारले झन्डै २० करोड रुपियाँ लगानी गरे पनि नतिजा सोचे जस्तो नआउँदा उपलब्धि नदेखिएको हो ।
रास्कोटका नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीले नगरपालिकामा भएका शिक्षक, कर्मचारी र कार्यालय सहयोगीको तलब भत्ता, छात्रवृत्ति, ससर्त अनुदान, दिवा खाजामा मात्र वार्षिक १९ देखि २० करोड रुपियाँ भुक्तानी हुने गरेको बताउनुभयो ।
नगरपालिकामा शिक्षा क्षेत्रमा करोडोँ लगानी हुने गरेको भए पनि २०७९ देखि २०८१ सम्मको तीन वर्षको कक्षा ५ र ८ का विद्यार्थीको नतिजा हेर्दा निकै खस्किएको पाइएको छ । नगरपालिकाको शिक्षा शाखाले २०७९ देखि कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा लिन सुरु गरेको थियो ।
चालु वर्ष २०८१ मा रास्कोट नगरपालिकाको शिक्षा शाखाले लिएको कक्षा ५ र कक्षा ८ को नगरस्तरीय परीक्षामा कक्षा ८ मा ८.७५ प्रतिशत र कक्षा ५ मा १३.३० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यो नतिजाको परिणामले पनि रास्कोटमा शिक्षा क्षेत्रको लगानी बालुवामा पानी हुन थालेको अभिभावकको गुनासो छ ।
यो वर्ष कक्षा ८ मा नगरभरका आठ वटा विद्यालयका ३७७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा ३३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । अनुत्तीर्ण भएका र ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थी सङ्ख्या ३४४ छ भने अनुत्तीर्ण विद्यार्थी प्रतिशत ९१.२५ छ ।
नगर शिक्षा शाखाका प्रमुख शाहीका अनुसार २०८१ को परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीमा सबैभन्दा बढी गणित विषयका छन् । गणितमा ३४५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस्तै दोस्रोमा विज्ञान २२५, तेस्रोमा अङ्ग्रेजी २१३, चौथोमा सामाजिक १४५, पाँचौँमा स्वास्थ्य १२४, छैटौँमा नेपाली ११० र सातौँमा स्थानीय विषय (हाम्रो रास्कोट हाम्रो पहिचान) मा ७१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
कक्षा ८ मा बडीमालिका माविबाट ७८ जना परीक्षार्थीमध्ये छ जना, जनजागृति माविमा ४५ जनामा तीन जना, मोतीराम माविमा ५६ जनामा चार जना, कालशिल्ला माविमा ७४ जनामा तीन जना, पिङ्गला आधारभूत विद्यालयमा ३० जनामा तीन जना, पञ्च आधारभूत विद्यालयमा २३ जनामा १० जना, मालिका आधारभूत विद्यालयमा ४६ जनामा दुई जना र सुन्दर आधारभूत विद्यालयमा २५ जनामा दुई जना गरी कुल ३३ जना विद्यार्थी मात्र उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ । गत वर्ष २०८० सालको नगरस्तरीय कक्षा ८ को परीक्षा पनि सन्तोषजनक थिएन । परीक्षामा चार सय जना विद्यार्थी सहभागी भएकोमा ३२ जना मात्र उत्तीर्ण भएका थिए ।