• २५ जेठ २०८२, आइतबार

पूर्व राज्यमन्त्री चौधरीको स्मृतिमा मनाइयो दिवस

blog

स्वर्गीय महेश चौधरी ।

सन्तोष दहित

दाङ, जेठ २४ गते । नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।

स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको बताउनुभयो । चौधरीले जनजाति आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले चौधरी सुख सुविधादेखि टाढा रहेर सामाजिक आन्दोलनमा सदैव लागेको स्मरण गर्नुभयो ।  

स्वर्गीय नेता चौधरी थारू आन्दोलनका अगुवाको रुपमा परिचित हुनुहुन्थ्यो । थारू भाषाको संरक्षण र प्रबर्द्धनमा उहाँको अग्रणी भूमिका रहँदै आएकोथियो । विसं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका  ‘गोचाली’ प्रकाशनको सुरुवात उहाँले गर्नुभएको थियो । उहाँले ‘द हिडन ट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग १ र २)’,  ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’,  ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तक लेख्नुभएको छ ।

स्वर्गीय नेता चौधरी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बन्नुभएको थियो । यस्तै, २०६४ मा एमालेको तर्फबाट समानुपातिक संविधान सदस्य बन्नुभएकोथियो।

दंगीशरण गाउँपालिका ४ बैबाङका चौधरीको उपचारक्रममा  २०८० जेठ २४ गते निधन भएको थियो ।  एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिव लक्ष्मण आचार्य, महेश चौधरीको धर्मपत्नी शान्ति चौधरी, नेपाल पत्रकार महाँसंघका केन्द्रीय सचिव सविन प्रियासन, वुद्धिजिवि परिषद् दाङका अध्यक्ष  तिर्थ न्यौपाने, प्राध्यापक केवी चौधरी, श्याम आचार्य र रामबहादुर जिसीले महेश चौधरीले दिनुभएको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सचिवालय सदस्य एवम् निवार्चन विभाग प्रमुख विवेक श्रेष्ठले गर्नुभएको थियो ।