• १३ पुस २०८२, आइतबार

सडकसँग जोडियो बिगोठी गाउँ

blog

सडकसँग जोडिएको बिगोठी गाउँ । तस्बिर : मोहनसिंह बुढा

मोहनसिंह बुढा
चङ्खेली (हुम्ला) पुस १३ गते ।
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । आइतबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्वारा निर्माण गरिएको लौठी रिल्म बिगोठी ग्रामीण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो ।

तीन वर्ष अगाडिदेखि निर्माण थालिएको सडकबिचमा रोकिँदै आजबाट औपचारिक रूपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानीय छबिलाल थापाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुने गरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला बिगोठीको गाउँ सडक सञ्जालसँग जोडिएको हो ।

सडकको निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उक्त सडकको उद्धघाटन गर्नु भएको छ । उपाध्यक्ष रोकाया अनुसार सडकको औपचारीका रूपमा उद्धघाटन गरेसँगै दुई वटा बोलेर जिप एउटा ट्याक्टरसहित बाइक समेत गाउँ मै पुर्‍याइएको छ ।

अब पालिकामा भएका ६ वटै वडा औपचारीक रूपमा सडकको पहुँचसँग जोडिएका छन् । यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज हुने भएको स्थानीय नागरिकको भनाइ रहेको छ ।

पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार घण्टा पैदलयात्रा गर्नुपर्थ्याे । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा केही समयमा घर पुग्ने भएपछि नागरिक खुसी भएका हुन् । गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने देखिएको छ ।