• १२ पुस २०८२, शनिबार

निर्वाचनको उचित वातावरण बन्छ : प्रधानमन्त्री

सबै दल निर्वाचनमा जान तयार, तर सुरक्षा चुनौति छ : सभापति देउवा

blog

शनिवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शीर्ष नेताहरुसँगको बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं, पुस १२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ । 

शनिवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताउनु भयो । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनु भयो । 

सभापति देउवाले भन्नुभयो, ‘‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुप¥यो । एमाले पनि तयार छ ।’’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिनुभयो । 

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री 


प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । 

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । 

प्रमुख तीन दलका शीर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले त्यसका लागि उचित वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

सञ्चारमन्त्री खरेलकाअनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गर्नुभएको थियो । 

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो । 

उहाँले भन्नुभयो, ‘‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिधा भन्नुभएको छ । उहाँले फागुन २१ को चुनावको यताउता नगरौं । जसरी हुन्छ चुनाव गराऔँ । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहनुु परेकाले सरकारले गरेको कामको पनि उहाँले एकदमै प्रशंसा गर्नुभएको छ । उहाँले हामी चुनावका लागि तयार रहेको र एमाले र काँग्रेसलाई पनि तयार हुन भन्नुभयो । अब काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको प्राथमिकता अब पुनःस्थापना होइन, चुनाव नै हो । चुनावका लागि तयार हुन एमाले अध्यक्ष केपी ओलीलाई पनि भन्नुभयो । र प्रधानमन्त्रीले पनि सबै राजनीतिक दलहरुलाई चुनावमा भाग लिन र सहयोग गर्न आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्यसपछि चुनावका लागि एमाले तयार छ । त्यसका लागि वातावरण बनाई दिनु प¥यो भन्नुभयो । यी सबैको जवाफमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले उचित सम्पूर्ण सुरक्षाका वातावरणहरु बनाउँछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु देउवा, ओली र दाहालसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।