रामकृष्ण बोहरा
बागलुङ, जेठ २४ गते । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएका ढोरपाटन नगरपालिका वडा नं. ४ भाँगीका रामबहादुर पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि काडमाडौं पठाइएको छ ।
घाइते पुनलाई प्रभु हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । उहाँ शनिबार घाँस काट्ने क्रममा रुखबाट लडेपछि गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते पुनलाई उपचारको लागि तत्काल बुर्तिबाङ अस्पताल ल्याइएको थियो ।
उहाँको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको र अचेत अवस्थामा भएकाले प्राथमिक उपचारपछि रिफर गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । बिरामीको अहिले पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको ढोरपाटन नगरपालिका वडा ४ का वडा अध्यक्ष तिलक पुनले जानकारी दिनुभयो ।