धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १३ गते । पाँच विद्यालय र चार कलेजका गरी ७८ जना बालिकाको पठनपाठनमा हाम्रो समाज नेपालले सहयोग गरेको छ । हाम्रो समाजको सप्तरीको महादेव गाउँपालिका ५ भगवतपुरमा आयोजित १४औं साधारण सभामा सो जानकारी गराएको हो ।
समाजका अध्यक्ष रामनारायण शर्माको अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चनाकुमारी यादवले समाजले शिक्षाक्षेत्रमा, विशेषगरी बालिका शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।
उपाध्यक्ष यादवले बालिका शिक्षामा जोड दिँदै बालविवाह न्यूनीकरण गर्न अभिभावक तथा सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । शिक्षाले व्यक्ति मात्र होइन, समाजको प्रतिष्ठा समेत उकास्ने उल्लेख गर्दै उहाँले उमेर नपुग्दै प्रेम सम्बन्धको नाममा बालविवाहमा नफस्न बालिकाहरूलाई समेत सचेत रहन आग्रह गर्नुभयो । बालविवाहका कारण शारीरिक, आर्थिक, सामाजिक तथा पारिवारिक प्रतिष्ठामा नकारात्मक असर पर्ने हुँदा सबै पक्ष सजग हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा समाजका संस्थापक कृतनारायण शर्माले संस्थाको उद्देश्य, गतिविधि तथा उपलब्धिहरूको जानकारी गराउँदै गरीब, विपन्न तथा दलित समुदायको जीवनस्तर सुधार गर्न बालिका शिक्षालाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार समाज २०६७ सालमा स्थापना भई सुरुदेखि नै बालिका शिक्षालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उहाँले जानकारी दिएअनुसार पालिकाअन्तर्गतका पाँच विद्यालय र चार कलेजका गरी ७८ जना बालिकालाई एक हजार ८६४ थान कापी, दुई हजार ४५ थान कलम, ७८ थान क्यालकुलेटर, कक्षा ११ र १२ का १९ सेट पाठ्यपुस्तक तथा १२ थान लेडिज साइकल वितरण गरिएको छ । साथै कक्षा ११ र १२ मा अध्ययनरत बालिकाहरूको ट्युसन फि, परीक्षा फि, भर्ना शुल्क तथा कोचिङ कक्षा शुल्क गरी एक लाख १४ हजार १७२ रुपियाँ संस्थाले व्यहोरेको जनाइएको छ ।
संस्थाले सञ्चालन गरिरहेका परियोजनाको मापदण्डअनुसार उपलब्धि मापन गर्न वर्षभरि पाँच विद्यालय र चार कलेजमा ४५० पटक अनुगमन गरिएको पनि जानकारी दिइएको छ ।
साधारण सभामा समाजका सहव्यवस्थापक बैजनाथ यादवले आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै एक वर्षमा १५ लाख ६८ हजार ४८१ रुपैयाँको कारोबार भएको जानकारी दिनुभयो ।
साधारण सभामा वडा नम्बर ६ का अध्यक्ष गजेन्द्र मण्डल, वडा नम्बर २ का अध्यक्ष जागेश्वर यादव, माला यादव, माध्यमिक विद्यालय पकरीका प्रधानाध्यापक नागेन्द्रप्रसाद सिंह लगायतले हाम्रो समाज नेपालले बालिका शिक्षामा पुर्याएको योगदान अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी पालिकामा प्रथम भएकी बालिका अप्सरा अधिकारी र उहाँका पितालाई दोसल्ला ओढाई, टीका लगाएर सम्मान गरिएको थियो ।