खेमराज सपकोटा
मोरङ, पुस १३ गते । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनामा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिबार राति जहदा गाउँपालिका–२ तारिगामाबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको गोप्य सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
प्रहरी टोली पुग्दा केही व्यक्तिहरू टाउकोमा गाँजाका बोरा बोकेर सीमा पार गराउने प्रयासमा रहेको अवस्थामा देखिएका थिए । प्रहरी देख्नासाथ तस्करीमा संलग्न समूहले बोरा छाडेर भाग्न खोजेपछि नियन्त्रणका लागि प्रहरीले ठुलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
त्यस क्रममा भारतको अररिया जिल्लाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान पक्राउ परेका छन् । उनीहरूबाट ३३० किलो गाँजा बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।