राजन रावत
हुम्ला, पुस १३ गते । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भएका कारण सडकमा पूर्ण रुपमा यातायात सञ्चालन बन्द गरिएको हो ।
हिल्सा सिमकोट सडकको याल्वाङ चौरदेखि इलिङ काँध खण्डमा स्तरोन्नति कार्य सुरु भएपछि एक महिनाका लागि यातायात सेवा बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । सडक निर्माण गर्दा अन्य विकल्प समेत नभएका कारण सडकको निर्माण कार्य बन्द गर्नुपरेको हो । नेपाल र चीनको सिमाना हिल्सा जाने मुख्य सडकका रुपमा सो सडक रहेको छ ।
लामो समयदेखि इलिङ काँध क्षेत्रमा सडकको स्तरोन्नति हुन सकेको थिएन । हिँउदे याम सुरु भएपछि खासै यातायातका साधन पनि सुचारु नहुने भएकाले सडक बन्द गरेर निर्माण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।
सडकका घुम्तीहरु मिलाउने, चौडा पार्ने, ग्याबिन लगाउने कार्य एक साथ हुने निर्माण कम्पनी कुशेश्वरका स्थानीय प्रतिनिधि सरोज रावतले बताउनुभयो । सो क्षेत्रको करिब तीन किलो मिटर सडक स्तरोन्नति गर्नुपर्ने र यो एक महिनाभित्र काम सक्ने गरी निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।