राधा लुइटेल
फिदिम, पुस १३ गते । नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो ।
वाजी नेतृत्वमा कांग्रेसको गाउँपालिका समिति अगाडि बढाउने सहमतिसहित १४ औं अधिवेशनबाट निर्वाचित समितिको अन्तिम बैठक सम्पन्न भएको वहालवाला सभापति सन्तकुमार सेर्माले बताउनुभयो ।
उहाँका अनुसार कांग्रेस केन्द्रीय समितिले तोकेको तालिका अगावै बैठकबाट यस्तो सहमति गरिएको हो ।
कांग्रेसले पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । यद्यपी निर्धारित मितिमा अधिवेशन हुने सम्भावना न्यून छ ।
जेनजी आन्दोलन पश्चात पार्टीमा केही अप्ठ्याराहरु सिर्जना भएकाले आन्तरिक प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयन गर्दै वडादेखि केन्द्रसम्म पार्टी नेतृत्व चलायमान बनाउन मिक्लाजुङबाट यस्तो अभ्यास सुरु गरिएको सेर्माले बताउनुभयो ।