• २४ चैत २०८२, मङ्गलबार

भारतमा ९ जना प्रहरीलाई मृत्युदण्डको सजाय

blog

नयाँदिल्ली, चैत २४ गते । भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उहाँका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीलाई दोषी गर्नुभएको थियो ।

जेल जीवन बिताइरहेका उनीहरूलाई प्रहरी अधिकारीले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो । उनीहरुको हत्यापछि तमिलनाडु सरकारले मुद्दा सिबिआईमा हस्तान्तरण गरेको थियो भने सिबिआईले ९० दिनभित्र नौ अधिकारी विरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ । 

सुनुवाइका क्रममा, सिबिआईले ५० जनाभन्दा बढी साक्षीको जाँच गरेको उल्लेख गर्दै घटनाले जन-भावनामा खेलबाड गरेको भन्दै कडा सजायको सुनिश्चित गरेको तर्क दिएको छ । हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । भारतमा पछिल्लो पटक बसमा एक महिलाको सामूहिक बलात्कार र हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको थियो । रासस/एएफपी