नागेन्द्रकुमार कर्ण/महेशकुमार दास
महोत्तरी, चैत २४ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
एसईईको परीक्षा सकेर घर फर्किरहेका विद्यार्थीको दुई मोटरसाइकल एकडारा गाउँपालिका वडानं. ५ मा एकआपसमा जुध्दा भएको आगलागीमा परेर तीन जना छात्रकाे मृत्यु भएको हो ।
मृतक र घाइतेको पहिचान हुन सकेको छैन। दुई मोटरसाइकल एक आपसमा जुध्दा भएको आगलागीमा मृत्यु भएका तीनैजनाको शव नचिनिने अवस्थामा रहेकोले पहिचानमा समय लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते भएका तीन जनालाई प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोलीहरू घटनास्थलमा पुग्नुका साथसाथै प्रादेशिक अस्पताल जलेश्वरमा आएर घाइतेबारे जानकारी लिनुभएको थियो ।
स्थानीयवासीले मोटरसाइकल जुधेर भएको आगलागीमा परेर तिन जनाको मृत्यु भएको घटना यसक्षेत्रमै पहिलोचोटी सुनिएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले मृतक र घाइतेको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिनुभएको छ ।
दुइवटै मोटरसाइकल समेत जलेकोले घटनाबारे बुझ्न ढिलाई भएको प्रहरीले जनाएको छ । घाइते र मृतकहरू जलेश्वर र एकडारा गाउँपालिकाको गेना बथनाहाको हुन सक्ने आशङ्का गरिएको छ ।एसईई सकेर घर फर्किरहेको दुईवटै मोटरसाइकलमा तिन, तिन जना सवार रहेको जनाइएको छ ।