• २० वैशाख २०८३, आइतबार

सिद्धार्थ राजमार्गमा पार्किङ व्यवस्थित बनाइँदै

blog

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा सरोकारवालाबिच गरिएको छलफल ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत २४ गते । स्याङ्जाको पुतलीबजार सहित सिद्धार्थ राजमार्गमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन थालिएको छ ।

सरोकारवालाबिच भएको छलफलले चार बुँदे निर्णय पश्चात आउँदो वैशाख १ देखि सवारी साधन पार्किङ व्यवस्थित बनाउने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा सरोकारवालाबिच गरिएको छलफलले तोकिएको स्थान बाहेक जथाभाबी पार्किङ नगर्न–नगराउन सूचित गरिएको हो ।

स्याङ्जाको मध्यभागमा पर्ने सिद्धार्थ राजमार्ग (८२ किलोमिटर) यहाँको फेदी खोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकामा पर्दछ ।

साँघुरो रहेको यो सडक खण्डमा सवारी साधन जथाभाबी पार्किङ गर्दा हुन सक्ने दुर्घटना वा जोखिम घटाउन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको समन्वयमा सवारी साधनलाई व्यवस्थित गर्ने तयारी गरिएको हो ।

सरोकारवालाको छलफलले पुतली बजार र मुख्य राजमार्गमा कुनै पनि प्रकारका सवारी साधनहरू पार्किङ गर्न पाइने छैन भने सार्वजनिक भाडाका सवारी साधनलाई बसपार्कमा पार्किङ गर्न भनिएको छ ।

पिकअप र पिकअपभन्दा साना भाडाका सार्वजनिक सवारी साधन पुतलीबजार नगरपालिका वडा नं. १ को बसपार्कको तल्लो खण्डमा रहेको खुला स्थानमा पार्किङ गर्नुपर्ने छ ।

ट्याक्सीका लागि भने ट्याक्सी चोकदेखि चापको रूख जाने भित्री बाटोमा बढीमा दुई वटा ट्याक्सी राख्ने, अन्यले बसपार्कमा पार्किङ गर्ने, पिकअप वा सोभन्दा ठुला सवारी साधन मुख्य राजमार्गमा सवारी होल्ड गर्न पाइने छैन् ।

चढाउन र ओराल्नका लागि पनि निश्चित स्थान निर्धारण गरिएको छ । यात्रु ओराल्ने–चढाउने कार्यका लागि पुतलीबजार–३, बाडखोला चोक, प्रगतिनगर नगरपालिका कार्यालय जाने चोक, घुम्तीचोकको प्रतीक्षालय, ट्याक्सी चोक र राङ्खोला स्थित बिरुवा चोकमा व्यवस्था गरिएको छ ।

राजमार्गका अन्य बजार क्षेत्र (फेदी खोला, हेलु, बयरघारी, मिर्दी, वालिङ, गल्याङ, राम्दी) मा भने सवारी साधनको पार्किङ तथा यात्रु चढ्ने–ओराल्ने कार्यका लागि सम्बन्धित पालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले समन्वय गरी स्थान पहिचान गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा जानकारी गराउने जिम्मेवारी तोकिएको छ ।

मोटरसाइकल पार्किङ नगरपालिकाको भित्री सडकमा गर्नुपर्ने, मुख्य राजमार्ग तथा भित्री सडक पेटीमा फुटपाथ पसल, अवैध संरचना तथा निर्माण सामग्री राख्न नपाइने निर्णय गरिएको प्रजिअ अर्यालले बताउनुभयो । निर्णय कार्यान्वयनको प्रक्रिया नमानेमा आवश्यक कारबाही अगाडि बढाउने अर्यालको भनाइ थियो ।