• २४ चैत २०८२, मङ्गलबार

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

blog

आर्टेमिस टोली ।

ह्युस्टन, चैत २४ गते । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् ।

चन्द्रमाको कम चिनिएका क्रेटरदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गर्नुभयो ।

उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनालाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमक उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीको योगदानको प्रशंसा गर्नुभयो ।

ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल (चार लाख छ हजार ७७८ किलोमिटर) टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भाबी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनु परेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्लयाक आउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताउनुभयो ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गर्नुभयो । संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उहाँले दूरीको कारण भएको टिप्पणी गर्नुभयो ।

ओरियन क्याप्सुलमार्फत फर्किदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री-रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बन्नुभएको छ भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर-अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा हुनुहुन्छ ।

मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखापर्‍याे । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो । उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो । नासाका अनुसार यी नाम औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिने छन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो । रासस/एएफपी