• १३ पुस २०८२, आइतबार

साहित्यसँग सहकारी र पर्यटनलाई जोड्ने प्रयास

blog

सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था पनौती–१ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटनको बारेमा बृहत् अन्तरक्रियामा सहभागीहरु ।

काठमाडौँ, पुस १३ गते । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था पनौती–१ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटनको बारेमा बृहत अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागीहरुले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको उल्लेख गरेका छन् ।  

पत्रकार राजेश खनालको सहजीकरणमा भएको उक्त कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार एवम् पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटाले उक्त अन्तरक्रिया कार्यक्रममा भाग लिनुभएको थियो ।

उहाँहरुले सहकारीले साहित्य र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्नेमा जोड दिनुभयो । छलफलमा सहभागी हुँदै समालोचक तथा साहित्यकार प्रा.डा. गौतमले भन्नुभयो, ‘‘सामूहिक भावनाबाट जन्मेको सहकारी वर्तमान अबस्थामा विचलन नभैकन राम्रा कार्यहरु गरिरहनु आफैँमा उल्लेखनीय भएको छ ।’’ उहाँले साहित्यकारले अनुभूत गरेका कुराहरु लेख्ने भएकोले संस्थागत प्रचारमा पनि साहित्यको भूमिका बढ्नेमा जोड दिनुभयो ।

सहकारी आर्थिक कारोबार मात्र नभई साहित्यको सेवा गर्न पनि सक्षम छ भन्ने प्रस्तुत कार्यक्रमले स्पष्ट पारेको प्रा.डा.गौतमले प्रष्टाउनुभयो ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यको उन्नयन र विकासमा सहकारीले धेरै योगदान गर्न सक्ने बताउनुभयो । उहाँले पर्यटनको विकासमा साहित्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

हिजोका परिकल्पना आज व्यावहारिक प्रयोग भएको भन्दै उहाँले साहित्य, पर्यटन र सहकारीलाई सँगै जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।

पर्यटन व्यवसायमा समेत संलग्न साहित्यकार प्रदीप सापकोटाले साहित्यले पर्यटनको विकास हुने बताउनुभयो । साहित्यले पर्यटनको विकासमा योगदान गर्नसक्ने भन्दै यसको निम्ति सम्बन्धित पक्षले पहलकदमी लिनुपर्नेमा उहाँले सहकारीलाई पनि अग्रसर हुन अनुरोध गर्नुभयो ।

सहकारीकर्मी श्यामहरि सापकोटाले साहित्य र पर्यटनको विकासमा सहकारीको भूमिका अहम् हुनेतर्फ सङ्केत गर्नुभयो । उहाँले साहित्यिक कार्यमा सहकारीको सहयोग रहँदै आएको उल्लेख गर्नुभयो ।

अन्तरकृयामा कवि पवन आलोक, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ ‘रोदन’,प्रदीप सापकोटा, मधु पाठक, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ, लोकनाथ सापकोटा, रामसुन्दर देउजालगायतका कविहरुले आफ्ना सृजनाहरु वाचन गर्नुभयो ।

शङ्कर भारती, बालकृष्ण तामाङलगायतले पनि आफ्ना धारणाहरु राखेको उक्त कार्यक्रमको अध्यक्षता रामचन्द्र सापकोटाले गर्नुभएको थियो । जनमैत्रीका उपाध्यक्ष सापकोटाले सुन्दर कार्यक्रम भएको टिप्पणी गर्दै आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउने र सहकारीले पर्यटनसँग जोड्न भूमिका खेल्ने बताउनुभयो ।